कास्कीको पर्यटकीय नगरी पोखरा महानगरपालिका–७ मासबारमा अवस्थित डिज्नील्याण्ड एकेडेमी पोखरामा स्थापित शैक्षिक संस्था हो । २०६३ सालमा भाडाको घरमा स्थापना भई २०६४ सालदेखि प्राथमिक तहको पठनपाठन सुरू गरेको यो विद्यालय अहिले आफ्नै भवनमा सरिसकेको छ । १७ रोपनी क्षेत्रफलमा फैलिएको विद्यालय परिसरभित्र १२ रोपनी क्षेत्रफलमा खेलकुद मैदान र अन्य संरचना बनाइएको छ भने पाँच रोपनीमा विद्यालय भवन बनाइएको छ । हहिले १० कक्षासम्म पठनपाठन भइरहेको विद्यालयलाई चाँडै नै १२ कक्षा सम्मको पठनपाठन गर्नेगरी योजना बनाइरहेको विद्यालयका प्रधानाध्यापक नरेश प्रसाद बराल बताउँछन् ।
उनका अनुसार पाँच जना संस्थापक सञ्चालक रहेको यो विद्यालयमा अहिले ६५० जना भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् भने ५४ जना कर्मचारी कार्यरत छन् । यस्तै, यो विद्यालयले हालसम्म १२ वटा ब्याचले माध्यमिक शिक्षा परीक्षा (एसईई) सहभागिता जनाइ उत्कृष्ट नतिजा हासिल गरिसकेको छ । पोखरामा एउटा महत्वपूर्ण शैक्षिक गन्तव्य बनेको ‘डिज्नील्याण्ड’ एकेडेमीका संस्थापक समेत रहेका प्रधानाध्यापक नरेश प्रसाद बरालसँग कर्पोरेट खबरका साइराम उपरकोटीले विविध विषयवस्तुमा कुराकानी गरेका छन् । प्रस्तुत छ, बरालसँग गरिएको कुराकानीको सम्पादित अंश–
नेपाली विद्यालयको नाम अंग्रेजी राख्नुभएको छ । यो विद्यालयको नाम ‘डिज्नील्याण्ड’ नै किन र कसरी राख्नुभयो ?
विद्यालय खोल्ने भनेपछि नाम त राख्नै पर्यो । त्यका लागि हामीले हामीले धेरै नाम सोच्यौँ, तर राम्रो नामहरू फुरेन । त्यसपछि हामीले गुगलको सहायता लिने निष्कर्ष निकाल्यौँ । गुगल सर्च गर्दा ‘डिज्नील्याण्ड’ शब्द भेट्यौँ । त्यसको अर्थ खोज्दै जाँदा बच्चाहरू रमाउने ठाउँलाई ‘डिज्नील्याण्ड’ भनिँदो रहेछ । बच्चाहरू नै पढाउने विद्यालयको नाम डिज्नील्याण्ड राख्दा ठिकै र पृथक समेत हुने ठानेर त्यही शब्दलाई हामीले विद्यालयको नामका रूपमा प्रयोग गरेका हौँ । त्यसैले यहीँ नाम राखेका हौँ ।
नाम त अंग्रेजी राख्नुभयो । अध्यापनचाहिँ कुन भाषामा गराउनुहुन्छ ?
नाम जेजस्तो भए पनि यो विद्यालय नेपाली हो । यहाँ अंग्रेजीसहित नेपाली भाषामा पढाउँछौँ । अहिलेको माग अनुसारको शिक्षा हामीले यो विद्यालयबाट दिने गरेका छौँ ।
विद्यार्थीको पठन–पाठनमा कसरी ध्यान दिनुभएको छ ?
हामीले विद्यार्थीको मानसिकता हेरेर तीनवटा क्षेत्रमा राखेका छौँ । कमजोर, मध्यम र उत्कृष्ट । यसरी वर्गीकरण गरिएका विद्यार्थीहरूलाई हामीले ग्रिन, एल्लो र रेड जोनमा राख्ने गरेका छौँ । जस अनुसार उत्कृष्ट बच्चालाई ग्रिन जोनमा राखेर ९० भन्दा माथि अङ्क कसरी ल्याउन सकिन्छ भनेर ध्यान दिएका हुन्छौँ । ५० देखि ६० अङ्क ल्याउने विद्यार्थीलाई एल्लो जोनमा राख्छौँ र उनीहरूले कसरी ८० भन्दा माथि अङ्क ल्याउन सक्छन् भनेर हेरिरहेका हुन्छौँ । यस्तै, रेड जोनमा उत्तीर्ण हुन नसक्ने विद्यार्थीहरूलाई राख्छौँ र उनीहरूलाई कसरी उत्तीर्ण गराउने भन्ने विषयमा यो विद्यालयले सम्पूर्ण शक्ति खर्च गरिरहेको छ ।
त्यसैले हामी धेरै प्रतिस्पर्धी विद्यालयहरूको बीचमा पनि टिक्न सकेका छौँ । अर्को कुरा, विद्यालयमा विद्यार्थीहरूलाई स्वयम्लाई मन परेको किताब किन्न लगाउने गरेका छौँ । त्यसले विद्यालयको कोर्षमा समावेश किताबहरूमा ध्यान नदिने विद्यार्थीेलाई पढ्ने बानीको विकास र भोक जगाउने हाम्रो विश्वास छ । उनीहरूलाई मन पर्ने किताब किनेर पढ्न लगाउँदा किताबप्रतिको मोह बढ्छ । त्यसैले हामीले विद्यार्थीलाई मन पर्ने किताब दिँदा पढ्न केही प्रेरित पनि गर्छ भन्ने हिसाबले नै यसरी नयाँ सुरुवात गरेका हौँ ।
बेर्डिङ भन्नेवित्तिकै महङ्गो शुल्क लिने गरिएको छ । तपाईंहरूको विद्यालयले चाहिँ कत्तिको महङ्गो शुल्क लिने गरेको छ ?
पोखराका विद्यालयहरूमा काठमाडौंको जस्तो महङ्गाृ शुल्क हुँदैन । सर्वसुलभ नै हुन्छ । त्यसमाथि पनि डिज्नील्याण्डले झनै जस्तो शुल्कमा आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ । हामीले शून्यस्तरका विद्यार्थीलाई २ हजार ५०० रूपैयाँ र त्यस भन्दा माथिका विद्यार्थीलाई पाँच हजार रूपैयाँ मासिक शुल्क लिने गरेका छौँ । साथै, हामीले विद्यार्थीलाई आवश्यक पर्ने हरेक वस्तुहरू विद्यालयबाटै उपलब्ध गराउने पनि गरेका छौँ ।
विद्यालयहरूबीच पनि तीव्र प्रतिस्पर्धा चलिरहेको देखिन्छ । ‘डिज्नील्याण्ड’लाई अझ प्रतिस्पर्धी र उत्कृष्ट बनाउन के–कस्ता योजना तय गर्नुभएको छ ?
अहिले हाम्रो विद्यालय १० कक्षासम्म सञ्चालनमा छ । अब १२ कक्षासम्म्म पढाउने विषयमा हामी सोचिरहेका छौँ । तर, त्यसका लागि हामीसँग पर्याप्त भौतिक संरचना छैन । त्यसैले, अब अहिले पढाइ भइरहेको भवनलाई ४ कक्षासम्म पठनपाठन गर्ने र नयाँ भवन बनाएर १२ कक्षासम्म पढाउने योजनमा बनाएका छौँ ।
तपाईं स्वयम् चाहिँ शैक्षिक पेसामा कहिलेदेखि प्रवेश गर्नुभयो ?
मैले २०६५ सालदेखि पढाउन थालेको हुँ । अहिलेसम्म निरन्तर पढाउँदै आएको छु । म पढाउन छोड्ने कल्पनासम्म पनि गर्न नसक्ने भएको छु । म खान छोड्न सक्छु तर पढाउन छोड्न सक्दिनँ । किनभने विद्यार्थीलाई आफ्नो केही शिक्षा बाँड्न पाउँदा धेरै खुसी छु । म विद्यालय बन्द हुँदा पनि एक पटक आएकै हुन्छु । म पहिल्यैदेखि सरकारी जागीर खाएको भए अहिले पेन्सन भइसक्थ्यो । त्यो अवसरहरू पनि नआएका होइनन् । तर, मलाई यो क्षेत्रमा धेरै नै क्रियाशील हुन मन लाग्यो र विद्यालय सञ्चालनकै योजना बनाएको हुँ । अहिले म आफू पनि पढ्दै छु र नानी–बाबुहरूलाई पनि पढाउँदै छु । यसले शिक्षण सिकाइलाई सधैं ताजकी राख्ने रहेछ ।
विद्यार्थीको सफलतामा अभिभावकको भूमिका कस्तो हुनुपर्छ ?
पढाइ राम्रो हुनका लागि स्वयम् विद्यार्थी अध्ययनशील हुनैपर्दछ । त्यसपछि मात्रै शिक्षक र अभिभावकको कुरा आउँछ । एउटा विद्यार्थीलाई उत्कृष्ट बनाउनका लागि विद्यार्थी, अभिभावक र गुरुवर्ग तीनै जनाको महत्वपूर्ण भूमिका हुन्छ । विद्यार्थीले स्कुलपछि घरमा गएर कति मोबाइल चलाइरहेको छ, कस्तो साथीसँग सङ्गत छ जस्ता यावत् कुराहरूको निगरानी गर्नमा अभिभावकज्यूहरूको नै महत्वपूर्ण भूमिका हुन्छ । किनभने विद्यार्थी विद्यालयमा ६–७ घण्टा मात्र हन्छ । बाँकी समय उ घरमा आफ्नो अभिभावकसँगै हुने गर्दछ । त्यसैले छोराछोरीको पढाइमा गुणस्तर वृद्धि गर्न र उनीहरूलाई पढाइप्रति संवेदनशील बनाउने कार्यमा अभिभावकहरूको नै भूमिका महत्वपूर्ण हुन्छ ।
अभिभावकहरूले आफ्ना बालबालिकालाई ‘डिज्नील्याण्ड’मै पढाउनुपर्ने त्यस्तो खास कारण पनि केही छ र ?
हाम्रो विद्यालयमा पढाइमात्र नभएर खेलकुद तथा संगीत सिकाइमा पनि विशेष ध्यान दिने गरिएको छ । यहाँ खेल्दै र रमाउँदै सिक्ने अन्तर्राष्ट्रियस्तरको वातावरण हामीले बनाएका छौँ । डिज्नील्याण्डले आधुनिक प्रविधिलाई पछ्याउँदै व्यावसायिक शिक्षालाई समेत जोड दिइएको छ । तसर्थ यो विद्यालय बालमैत्री र प्रविधिमैत्री समेत छ । विद्यार्थीलाई किताबी र जीवनजगतको ज्ञान दिने तथा व्यवहार, संस्कार, शीप र प्रविधिमा दक्ष बनाउने हो भने हाम्रो विद्यालयमा स्वागत छ । साथै, । हामीले खेलकुद, मनोरञ्जन जस्ता शिक्षा पनि ध्यान दिँदै आइरहेका छौँ । हामीले शिक्षा मात्र नभएर सम्पूर्ण शिक्षा दिँदै आइरहेका छौँ ।
यो कुराकानीका क्रममा यो प्रश्न सोधेको भए यो कुरालाई यसरी एक्सपोज गर्थेँ, तर प्रश्नै आएन भन्ने कुनै त्यस्तो विषय छ ?
त्यस्तो विषय त खासै रहेन । यद्यपि, हामी सिक्ने र सिकाउने ठाउँमा छौँ । त्यसैले सबै जना आउनुहोस् र एक पटक डिज्नील्याण्ड विद्यालयको शैक्षिक र अतिरिक्त गतिविधिलाई भिजिट गर्नुहोस् । त्यसपछि तपाइँलाई ठिक लाग्यो भने बालबालिका हामीकहाँ पठाउनुहोस् हामी उत्कृष्ट शिक्षा दिएर पठाउँछौँ । अर्को कुरा, पोखरामा डिज्नील्याण्ड पनि एउटा महत्वपूर्ण शैक्षिक गन्तव्य हो भनेर चिनाउन सकेको छु, यो सबैभन्दा धेरै खुसीको विषय हो । हाम्रा अधिकांश विद्यार्थीहरूले उच्च शिक्षामा इन्जिनीयर शिक्षा र केहीले मेडिकल शिक्षा रोजेका छन् । त्यसले पनि थप खुसी दिलाइरहेको छ ।
FACEBOOK COMMENTS