सिन्धुपाल्चोक । नेपालको उत्तरी नाका तातोपानी हुँदै चीनबाट सामान ल्याउने ट्रान्सपोर्ट कम्पनीबीच भएको विवादले आयात नै प्रभावित हुने देखिएको छ ।
केही वर्षदेखि सिल्क ट्रान्सपोर्टले मात्रै एकलौटी सामान आयात गरेको यो नाकामा केही महीनादेखि अन्य दुई ट्रान्सपोर्ट कम्पनीले सामान ल्याउन अनुमति पाएसँगै विवाद शुरू भएको हो । विवादका कारण तातोपानी भन्सारको आयातमा समस्या उत्पन्न भएको छ ।
तातोपानी नाकामा सिल्क ट्रान्सपोर्ट, नमस्ते ग्लोबल लजिस्टिक र रिवान्जे ट्रान्सपोर्टले चीनबाट सामान ल्याउने गर्छन् । नमस्ते ट्रान्सपोर्टले सामान आयातका लागि चीनबाट जति माग आउँछ त्यतिमात्रै कन्टेनर पठाउ भन्ने र सिल्क ट्रान्सपोर्टले क्यूमा गाडी राखेर सामान आयात गर्ने भनेपछि ट्रान्सपोर्ट कम्पनीबीच विवाद देखिएको हो । सामान बोक्नका लागि सिल्क ट्रान्सपोर्टको ५२ ओटा, नमस्ते ग्लोबल लजिस्टिकको ३२ ओटा र रिवान्जे ट्रान्सपोर्टको १२ ओटा कन्टेनर छन् ।
विवाद सुल्झाउन तीनओटै ट्रान्सपोर्टका प्रतिनिधिहरू र तातोपानी भन्सार कार्यालयका अधिकारीहरूसहितको टोलीले पटकपटक वार्ता र छलफल गरे पनि समाधान भने हुन नसकेको नमस्ते ट्रान्सपोर्टका सञ्चालक दानोर्बु शेर्पाले बताए । ‘जजसको सामान छ, जसले जुन ट्रान्सपोर्टको कन्टेनर माग गर्छ त्यही पठाउन पाउनुपर्छ भन्ने हाम्रो कुरा हो,’ शेर्पाले भने, ‘तर, सिल्क ट्रान्सपोर्टका सञ्चालकहरू मान्नु हुँदैन, त्यसकारण विवाद मिल्न सकेको छैन ।’ चीनमा गएर गाडी त्यत्तिकै बस्नुपर्दा १ दिनको २ हजार आरएमबी तिर्नुपर्ने हुँदा जति माग आउँछ त्यतिमात्रै कन्टेनर पठाउन आपूmहरूले भनेको उनले बताएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS