काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा जलेका १२ शवको डीएनए परीक्षण गर्न नमिल्ने भएको छ । नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाले जलेका शवको कंकाल र खरानीबाट डीएनए परीक्षण गर्न नसकिने निष्कर्ष निकालेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक डीआईजी विनोद घिमिरेले डीएनए परीक्षण गर्न नमिल्ने जानकारी दिए । “जेनजी प्रर्दशनका क्रममा जलेका शवहरूको डीएनए म्याच गर्न नमिल्ने देखियो । १२ वटामध्ये एकजनाको शवको प्रक्रिया पुर्याएर अन्त्येष्टि भइसकेको छ । बाँकी ११ शवका कंकाल छन्,” डीआईजी घिमिरेले भने ।
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी गरी ७६ जनाको निधन भएको थियो । त्यसपछि शवको पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्जको फोरेन्सिक विभागमा पठाइएको थियो ।
अस्पतालका प्रमुख डा. गोपाल चौधरीका अनुसार, अन्य सबै शवहरूको पहिचान र अन्त्येष्टि भइसकेको छ । “पोष्टमार्टम गर्न ल्याइएका अन्य सबै शवको पहिचान र अन्त्येष्टि भइसकेको छ । बाँकी शवको पहिचान भएन । पोका–पोका पारेर ल्याइएका कंकालको डीएनएसमेत म्याच गर्न सकिदैन,” डा. चौधरीले भने ।
बेवारिसे शवसँगै अन्त्येष्टि गरिने
प्रहरीको प्रयोगशालाबाट डीएनए ‘म्याच’ गर्न नसकिने आधिकारिक पत्र अस्पतालले प्राप्त गरेपछि अन्त्येष्टिको प्रक्रिया अगाडि बढाउने डा. चौधरीले बताए ।

उनले बेवारिसे शवसँगै जेनजी प्रदर्शन क्रममा जलेका शवको अन्त्येष्टि गरिने बताए । “हामीसँग अन्य बेवारिसे शव पनि छन् । प्रहरीको प्रयोगशालाबाट आधिकारिक पत्र आएपछि ती शवसँगै अन्त्येष्टिको प्रक्रिया अगाडि बढाउँछौँ,” उनले भने ।

जेनजी आन्दोलनको बेला चाबहिलको भाटभटेनी पुगेका हुम्लाको नाम्खा गाउँपालिका–३, खगालगाउँका थुक्तेन पाल्वर लामाको हालसम्म कुनै अत्तोपत्तो छैन ।

परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिए पनि पत्ता लाग्न सकेन । अस्पतालमा राखिएका शवको पहिचान नभएपछि परिवार पनि अन्योलमा छन् ।

चाबहिलको भाटभटेनीमै जलेर मृत्यु भएको हुनसक्ने परिवारको अनुमान छ । चुच्चेपाटीस्थित भाटभटेनीमा ६ जनाको शव जलेको अवस्थामा भेटिएको थियो ।
FACEBOOK COMMENTS