सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिकामा सडक अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालिएको छ ।
मलङ्गवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र यादवले आफ्नै घरमा डोजर लगाएर संरचना भत्काउन सुरु गरेका हुन् । मलङ्गवा नगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने सडक मापदण्डभित्र रहेको संरचना हटाउन नगरपालिकाले यही पुस ८ गते सूचना जारी गरेको थियो । संरचना हटाउन दिएको म्याद यही पुस २२ गते सकिएको छ ।
सूचनालाई अटेर गरेपछि नगरपालिकाले अतिक्रमित संरचना डोजर लगाएर भत्काउन सुरु गरिएको मलङ्गवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिए । बजार क्षेत्रको सडक अहिले १५ मिटर चौडा कायम गरी बनाउन थालिएको उनले बताए । अतिक्रमण नहटाउँदा लामो समयदेखि सडक निर्माण कार्य अवरुद्ध थियो ।
जिल्लाकै पुरानो नगरपालिका मलङ्गवामा सडक, नाला र सडक बत्तीको निर्माण तथा उचित व्यवस्थापन हुन सकेको छैन । मलङ्गवा बजार क्षेत्र कुरुप बन्दै गएको छ । सडक अतिक्रमण गरी बनाइएका संरचनालाई जसरी पनि हटाइने नगरप्रमुख यादवले बताए ।
FACEBOOK COMMENTS