दोलखा । जिल्लाको बैत्येश्वर गाउँपालिकाले गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयहरूलाई तत्काल पठनपाठन सुचारु गर्न निर्देशन दिएको छ ।
आज सोमबार सूचना जारी गर्दै गाउँपालिकाले भोलि मंगलबारदेखि नै भर्नालगायतका कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।
नयाँ शैक्षिक सत्र सुरू भए पनि शिक्षक आन्दोलनको प्रभावले विद्यालय सञ्चालनमा ढिलाइ भएपछि विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण र कक्षा सञ्चालन सुरू नहुँदा बालबालिकाको शैक्षिक अधिकार र मनोवैज्ञानिक अवस्था प्रभावित भएको भन्दै गाउँपालिकाले विद्यालय सञ्चालनका लागि निर्देशन जारी गरेको उल्लेख गरेको छ ।
गाउँपालिकाका अध्यक्ष छवि लामाले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, ‘सम्पूर्ण सामुदायिक विद्यालयले शैक्षिक तथा प्रशासनिक कार्यहरू मिति २०८२ साल वैशाख ९ गतेदेखि अनिवार्य रुपमा सुरु गर्नु पर्नेछ ।’
शिक्षक आन्दोलनको प्रभावले विद्यालय सञ्चालनमा ढिलाइ भएको छ । शिक्षकहरुले स्थायी नियुक्ति, तलब वृद्धि, सेवा सुरक्षालगायतका माग राख्दै आन्दोलन गरिरहेका छन्, जसले शैक्षिक गतिविधिमा अवरोध पुर्याएको छ ।
स्थानीय अभिभावकहरुले विद्यालय सञ्चालन नहुँदा बालबालिकाको समय खेर जाँदै गएको भन्दै चासो व्यक्त गरेका छन् ।
शिक्षकहरूलाई प्रधानमन्त्रीले भने– आन्दोलन गर्ने याे उपयुक्त समय होइन (भिडिओ)
FACEBOOK COMMENTS