दोलखा । दोलखामा अवस्थित देशकै प्रसिद्ध भीमेश्वर मन्दिरमा रहेको भीमसेनको शिलामा आज पनि पसिना आएको छ ।
आज बुधबार दिउँसो १२ः४५ देखि ३ः१३ बजेसम्म करिब साढे दुई घण्टा पसिना आएको हो ।
भीमसेनको शिलामा पसिना आउँदा देशमा अशुभ हुने जनविश्वास रहँदै आएको छ । जानकारहरूका अनुसार शिलाको बाँया तर्फबाट पसिना आउँदा अनिष्टको सङ्केत गर्दछ भने शिलाको दाँया तर्फबाट पसिना आउँदा शुभ सङ्केत गर्ने जनविश्वास छ ।
भीमेश्वर नगरपालिका प्रमुख ईश्वरनारायण मानन्धरका अनुसार आज भीमसेनको शिलाको शीर हुँदै मध्यभागसम्म पसिना आएको छ । यसअघि गत शनिबार शिलाको बाँया (देब्रे) तर्फबाट करिब दुई घण्टासम्म पसिना आएको थियो । फलस्वरुप आज बिहानै सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा परेको चर्चा समेत गरिएको छ । किनकी बाँयातर्फबाट पसिना आउँदा जनतामा कष्ट पर्ने विश्वास गरिएको छ ।
तथ्य अनुसार यसअघि वि.सं. १९९०, १९९७, २००७, २०१७, २०३६, २०४६, २०५७, २०६४, २०७२, २०७७, २०७८ र २०८१ साउन ५ गते शिलाको बाँया भागबाट पसिना आएको थियो । यी समयमा राजदरबार हत्याकाण्डदेखि ठूला राजनीतिक परिवर्तन, प्राकृतिक विपत्ति र अन्य विभिन्न दुःखदायी घटनाहरू भएको पाउन सकिन्छ ।
भीमेश्वरको शीलामा पसिना आउँदा राजतन्त्रकालमा दरबारले पञ्चवली पठाउने चलन थियो । तर, गणतन्त्रपछि त्यो परम्परा छोडिएको छ भने राष्ट्रपतिलाई महाप्रसाद पठाउने छलन छ । राष्ट्रपतिले सो महाप्रसाद ग्रहण गरेपछि भेटी दिई उपयुक्त साइत निकालेर राष्ट्रपतिकै नाममा क्षमापूजा लगाउने प्रचलन स्थापित गरिएको भीमेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पसिना आएलगत्तै प्रचलित परम्परा अनुसार मन्दिरका पुजारी तथा गुठियारहरूले पूजापाठ गरेका छन् । भीमेश्वरको शिलामा कालो पानीको थोपा देखिएर झर्ने क्रमलाई पसिना आएको भन्ने गरिएको छ । यसरी शिलामा आएको पसिना पुछेको कपास लिनेको ठूलो भीड मन्दिर परिसरमा लाग्ने गरेको छ । पसिना पुछेको कपास राष्ट्र प्रमुख र सर्वसाधारणमा बाँड्ने चलन छ ।
हेर्नुहोस् भिडिओ–
दोलखा भीमेश्वरको शिलामा पसिना आयो, देशमा अनिष्ट हुने जनविश्वास
FACEBOOK COMMENTS