एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आधिकारिक सामाजिक मिडिया खाताहरूमा युद्धग्रस्त गाजालाई समुद्र तटीय रिसोर्टका रूपमा पुनर्निर्माण गरिएको आफ्नै अग्लो सुनौलो मूर्तिसहितको एआई–जनित भिडियो पोस्ट गरिएको छ ।
इन्स्टाग्राममा एक करोड पाँच लाखभन्दा बढी पटक हेरिएको र बुधबार बिहान ट्रम्पको ट्रुथ सोसल नेटवर्कमा दुई हजार चार सयपटक सेयर गरिएको भिडियोले केही टिप्पणीकर्तालाई राष्ट्रपतिको खाता ह्याक गरिएको छ कि छैन भनेर प्रश्न गर्न प्रेरित गर्यो ।
मङ्गलबार राति प्रारम्भिक पोस्ट गरिएको केही घन्टापछि पनि ३३ सेकेन्डको क्लिप ट्रम्पको खातामा अस्वीकार वा खण्डनबिना नै रहेको थियो । “गाजा २०२५ अब के ? ” शीर्षकको भिडियो भग्नावशेषले भरिएको सडकमा रहेका मानिसहरू सुरुङबाट खजुरका रूखहरू र जहाजहरू भएको समुद्र किनारमा निस्कँदै सुरु हुन्छ ।
ट्रम्पले गाजामाथि अमेरिकी नियन्त्रणको विचार प्रस्ताव गरे । उक्त प्रस्तावमा यसको प्यालेस्टिनी जनसङ्ख्या स्थानान्तरण गरिने थियो । उक्त प्रस्तावले व्यापक आलोचना निम्त्याएको छ ।
पछि यो विचारलाई मात्र सिफारिस गरिरहेको भन्दै उनले आफ्नो योजनालाई नरम तुल्याए । साथै जोर्डन र इजिप्टका नेताहरूले प्यालेस्टिनीहरूलाई उनीहरूको इच्छाविरुद्ध सार्ने प्रस्तावलाई अस्वीकार गरेको स्वीकार गरेका थिए ।
सामाजिक मिडिया क्लिपमा साउन्डटङ्याकमा ‘डोनाल्ड तिमीलाई मुक्त गर्न आउँदै हुनुहुन्छ, सबैले देख्नका लागि उज्यालो ल्याउँदै’ र ‘भोज र नृत्य, सम्झौता पूरा भयो, ट्रम्प गाजा नम्बर एक’ भन्ने गीतका बोलहरू समावेश छन् ।
देखिने गरी एआई–जनित ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका चित्रण पौडी पोखरी छेउमा स्विमसुटमा ककटेल पिउँदै देखिनुहुन्छ भने अन्य दृश्यहरूमा समुद्र किनारमा नगदको वर्षा मुनि नाचिरहेका एलन मस्क देखाइएको छ ।
ट्रम्पको जीवनभन्दा ठूलो सुनौलो मूर्ति पनि चित्रित गरिएको छ । सामाजिक मिडिया प्रयोगकर्ताहरूले समर्थन र आलोचना दुवै प्रतिक्रिया दिए तर धेरैले ट्रम्प आफैँले यो सङ्कलन पोस्ट गरेको हो कि भनेर प्रश्न गरे ।
एएफपीले यो भिडियो ट्रम्पको ट्रुथ सोशल र इन्स्टाग्राम खाताहरूमा पोस्ट गरिनुअघि अनलाइनमा साझा गरिएको कुनै प्रमाण फेला पारेको छैन । तथापि एक दृश्य फेब्रुअरी सुरुमा प्रचलनमा आएको ट्रम्प र नेतन्याहु ककटेल पिउँदै गरेको एआई–जनित तस्बिरसँग मिल्दोजुल्दो छ ।
हमासको सन् २०२३ अक्टोबर ७ को इजरायलमाथिको आक्रमणबाट सुरु भएको १५ महिनाभन्दा बढीको युद्धले गाजा पट्टीको धेरै भाग भग्नावशेषमा परिणत गरेको छ र यसको अधिकांश जनसङ्ख्या विस्थापित भएको छ ।
संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार पुनर्निर्माणको लागत ५३ अर्ब डलरभन्दा बढी छ । जनवरी १९ देखि प्रभावमा रहेको नाजुक युद्धविरामले गाजामा मानवीय सहायताको वृद्धि गर्न अनुमति दिएको छ । यद्यपि हमासले इजरायललाई केही आवश्यक आपूर्तिहरूको प्रवेश रोकेको आरोप लगाएको छ ।
FACEBOOK COMMENTS