काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रुसले निरन्तर बमबारी गरिरहेकोमा आक्रोश व्यक्त गरेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘सन्की’ भन्दै रुसविरुद्ध थप प्रतिबन्ध लगाउने बारेमा विचार गरिरहेको बताएका छन् ।
ट्रम्पले भनेका छन्, ‘मेरो रुसका भ्लादिमिर पुटिनसँग सधैँ धेरै राम्रो सम्बन्ध रह्यो, तर उनलाई केही भएको छ । उनी बिनाकारण धेरै मानिसहरूलाई मारिरहेका छन् र म केवल सैनिकहरूको बारेमा कुरा गरिरहेको छैन । युक्रेनी शहरहरूमा बिनाकारण मिसाइल र ड्रोनहरू प्रहार गरिँदै छन् ।’
ट्रम्पले थप भनेका छन्, ‘मैले सधैँ भनेको छु कि उनी युक्रेनको एक टुक्रा मात्र होइन, सम्पूर्ण युक्रेन चाहन्छन् र त्यो सत्य साबित हुन सक्छ, तर यदि उनले त्यसो गरे भने यसले रुसको पतन निम्त्याउनेछ !’
ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पनि निशाना बनाए । उनले भने, ‘राष्ट्रपति जेलेन्स्कीले आफ्नो बोल्ने तरिकाले आफ्नो देशलाई कुनै राम्रो गरिरहेका छैनन् । उनको मुखबाट निस्कने सबै कुराले समस्या सिर्जना गर्छ, मलाई यो मन पर्दैन र यो बन्द भए राम्रो हुनेछ ।’
यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको ‘मौनता’ ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रोत्साहन गरिरहेको बताएका थिए ।
FACEBOOK COMMENTS