काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै धनी एलन मस्कबीचको विवाद मथ्थर भएको छ । मस्कले सरकारी दक्षता विभाग छोडेपछि आमनेसामने भएका ट्रम्प र मस्कबीचको विवाद अब मथ्थर हुने सङ्केत देखिएको छ ।
मस्कले सामाजिक सञ्जालमा आफुले राष्ट्रपति ट्रम्पविरुद्ध गरेको पोष्टप्रति पछुतो रहेको उल्लेख गरेपछि दुवैवीचको विवाद रोकिने सङ्केत देखिएको हो ।
सो पोष्टपछि राष्ट्रपति ट्रम्पले मस्कको माफीको प्रशंसा गरेका छन् । व्हाइटहाउसकी प्रवक्ता क्यारोलिन लेभिटले एक ब्रिफिङमा पत्रकारहरूलाई जानकारी दिँदै मस्कको सो पोष्टप्रति राष्ट्रपति ट्रम्प सकारात्मक भएको बताएकी छन् ।
न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार मस्कले सामाजिक सञ्जालमा माफी पोष्ट गर्नुअघि राष्ट्रपति ट्रम्पलाई फोन गरेका थिए ।
मस्कले अघिल्ला पोष्टहरूमा ट्रम्पका बारेमा आवश्यकताभन्दा धेरै बोलेको भन्दै पछुतो व्यक्त गरेका थिए । साथै, मस्कले राष्ट्रपति ट्रम्पको व्यापक कर र खर्च बिललाई घृणित भनिएका आफ्ना सबै पोष्टहरू पनि हटाएका छन् ।
ट्रम्प र मस्कबीच सरकारले ल्याएको एक विधेयकमाथिको बहसले जुन ५ देखि विवाद सिर्जना गरेको थियो । ट्रम्पले मिडियामा विद्युतीय सवारीसाधन खरिद गर्ने कानुनमा कटौतीको समस्या मस्कलाई हुन थालेको बताएपछि विवाद बढेको थियो ।
त्यसपछि मस्कले ट्रम्पको सम्बन्ध यौन अपराधी एपस्टाइनसँग जोडिएको बताउँदै एक पोष्ट गरे । यसबाहेक, उनले ट्रम्पलाई महाभियोग लगाउन माग पनि गरेका थिए । ट्रम्पले जुन ७ मा एलन मस्कसँगको आफ्नो सम्बन्ध समाप्त भएको बताएका थिए । त्यसपछि ट्रम्पले मस्कलाई विपक्षी डेमोक्र्याटहरूलाई समर्थन गरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएका थिए ।
FACEBOOK COMMENTS