काठमाडौँ । जापानको प्रमुख सहर ओसाकालाई पुरानो बन्दै गएको पानी आपूर्ति प्रणाली सुधार गर्न उल्लेखनीय सहयोग प्राप्त भएको छ ।
सहरलाई करिब २१ किलोग्राम तौलका सुन दानस्वरूप प्रदान गरिएपछि यसको चर्चा व्यापक रहेको छ ।
करिब ५६ करोड येन (झण्डै ३६ लाख अमेरिकी डलर) बराबर मूल्यका ती सुनका इँटाहरू गत नोभेम्बर महिनामा आफ्नो परिचय सार्वजनिक गर्न नचाहने एक दाताले उपलब्ध गराएका हुन् । यसबारे जानकारी दिँदै ओसाकाका मेयर हिदेयुकी योकोयामाले पत्रकार सम्मेलनमा सहरलाई ठूलो आर्थिक राहत मिलेको जानकारी दिएका छन् ।
मेयर योकोयामाले पुरानो बन्दै गएको खानेपानी पाइपलाइन व्यवस्थापन र मर्मतका लागि ठूलो लगानी आवश्यक पर्ने उल्लेख गर्दै दाताप्रति कृतज्ञता व्यक्त गरे । ’यस्तो सहयोगप्रति धन्यवाद दिनुबाहेक मसँग अरू शब्द छैन,’ उनले भने । उनका अनुसार प्राप्त सहयोग ’अचम्मित पार्ने’ र ’शब्दभन्दा पर’ को रहेको छ । उनले सोही दाताले यसअघि पनि नगरको पानी सेवा विभागका लागि पाँच लाख येन नगद सहयोग गरेको जानकारी दिए ।
करिब ३० लाख जनसंख्या रहेको ओसाका जापानको कन्साइ क्षेत्रमा अवस्थित एक प्रमुख व्यावसायिक केन्द्र हो र देशको तेस्रो ठूलो सहरका रूपमा चिनिन्छ । तर अन्य धेरै जापानी सहरहरूजस्तै ओसाकाको पानी तथा ढल निकास पाइपलाइन प्रणाली पनि पुरानो बन्दै गएको छ, जसले सुरक्षा र पूर्वाधार व्यवस्थापनबारे चिन्ता बढाएको छ ।

सहरको जल विभागका अनुसार आर्थिक वर्ष २०२४ मा ओसाकाका सडक मुनि रहेका पानीका पाइपलाइनमा चुहावटका ९० भन्दा बढी घटना दर्ता भएका छन् । अधिकारीहरूका अनुसार प्राप्त सुन दानलाई नगदमा रूपान्तरण गरी पानी पूर्वाधार सुधार र आधुनिकीकरणमा खर्च गरिनेछ ।

FACEBOOK COMMENTS