पोखरा कार्तिक २० , नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका छन् । बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका हुन् । अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहँदा नेपालमा पनि मूल्य वृद्धि हुनु स्वभाविक भएको बताए ।
उनले नेपालमा तेलको मूल्य वृद्धि भएको विषयलाई अनर्गल प्रचार गरिरहेको बताउँदै राजनीतिक दल र तिनका भातृ संगठनहरुले यसलाई राजनीतिक विषय बनाएको आरोप लगाए । अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर ७ रुपैयाँ तेलको मूल्य बढ्दा नेपालमा ३ रुपैयाँ मात्र बढाइएको बताउँदै कार्यकारी निर्देशक पौडेलले यसले जनतालाई मारमा नपार्ने बताए । उनले विश्व राजनीतिमा उतारचढाव हुँदा तेलको मूल्य बढीरहेको भन्दै अबको दुई वर्ष तेलको मूल्य स्थिर हुन नसक्ने बताए ।
कार्यकारी निर्देशक पौडेलले नेपाल आयल निगम गत वर्षको जनवरीदेखि नै घाटामा रहेको बताए । उनले मूल्य बढेपछि अहिलेसम्म ३३ रुपैयाँसम्म मूल्य समायोजन भइसकेको बताउँदै पछिल्लो २ वर्षमा १७÷१८ रुपैयाँ घटाएको बताए । पौडेलले जिम्मेवार सञ्चारमाध्यममा आएका निगमको कुरालाई विश्वास गर्न पनि आग्रह गरे । उनले निगमले अहिलेसम्म तथ्यांक नलुकाएको दाबी गर्दै निगमलाई तथानाम गाली गलौज गर्नु अर्थतन्त्र सिध्याउने काम मात्र भएको बताए ।
FACEBOOK COMMENTS