काठमाडौं । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले आम चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् । आइतबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका नेपाली काँग्रेस काठमाडौंका सभापति सबुज बानियाँ र भक्तपुरका सभापति दुर्लभ थापालाई चुनावको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।
भक्तपुरका सभापति दुर्लभ थापाले भने, ‘हामीले जिल्ला कार्यसमितिका पदाधिकारीको भेला गरौं कि भनेर बालुवाटार गएका थियौं । सभापतिज्यूले अहिले भेला नगर्न भन्नुभयो ।’ १४ औं महाधिवेशनपछि नयाँ जिल्ला कार्यसमिति आएको भन्दै उनीहरुले पदाधिकारीको भेलाका गर्न योजनामा थिए ।
तर देउवाले भेला र बैठकभन्दा पनि चुनावको तयारीमा जुट्न निर्देशन दिएको थापाले रातोपाटीलाई बताए । ‘चुनावको तयारीमा लाग्नुस् । बढी भन्दा बढी साथीहरुलाई जिताउन लाग्नुस्, अहिले बाँकी कुरा छोड्नुस् ,’ देउवाको भनाइ उद्धृत गर्दै थापाले भने,‘ जितेर आउनस् । साथीहरुलाई जिताएर ल्याउनुस् ।’ देउवाले पार्टीलाई एकताबद्ध बनाएर चुनावमा होमिन पनि निर्देशन दिएको थापाको भनाइ छ ।
प्रधानमन्त्री देउवाले मंसिर ४ गतेका लागि निर्वाचनको मित तय गरिने संकेत दिएका थिए । थापाले भने, ‘संघीय संसदको मंसिर ४ गते चुनावको कुरा छ । यही ढंगले आन्तरिक छलफल भएको छ । निर्वाचन आयोग पनि त्यही तयारीमा छ । सभापतिज्यूसँगको भेट्मा पनि हामीले त्यही संकेत पायौं ।’
थापाकाअनुसार सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले चुनावको मिति घोषणा गर्न सक्छ । उनले भने, ‘यही हप्ताभित्र चुनावको मिति घोषणा हुने परिस्थिति देखिन्छ । यसमा सबै तयार नै छन् भन्ने मैले बुझेको छु ।’
FACEBOOK COMMENTS