काठमाडौं । कात्तिकमा आएको बाढीपहिरोले सुदूरपश्चिममा ३७ जनाले ज्यान गुमाए भने २५ जना बेपत्ता भए । तीन हजार विस्थापित भए। जता प्राविधिक सर्भे नै नगरिएर डोजर प्रयोग भए उतै पहिरो जाँदा ठूलो क्षति भएको हो ।
डोजरे विकासले यस वर्ष बाजुरामा मात्रै १ हजार ७४ घर परिवार बिस्थापित भएका छन्। गत वर्षभन्दा छिटो अविरल वर्षा भएपछि यति ठूलो संख्यामा परिवारहरू विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
सुदूरपश्चिममा असार १ गतेदेखि नै वर्ष सुरु भयो। कमजोर भूू–बनोट र स्टिमेट बिनाका सडकहरूमा डोजर चलाउँदा पहिरो गयो। सर्भे विनाका सडकमा मात्र लगानी गरेपछि यस्तो विपत्ति आएको सुदूरपश्चिम पूर्वाधार विकास निर्देशनालयका प्रमुख प्रेमदत्त भट्टको भनाइ छ।
‘स्थानीय नेताहरूको इच्छा अनुसारका सडक बने, त्यसले विपत् निम्त्यायो’, उनले भने। लामो समय सडक डिभिजन कार्यालयमा कार्यरत इन्जिनियर महेन्द्रप्रसाद पन्त भन्छन्, ‘डोजरले चट्टान खुकुलो पार्छ, अनी सामान्य वर्ष हुँदा पनि हल्लिएको जमिन भासिन्छ, त्यसले पहिरो गएको हो।’ सडक खन्दा डोजरको प्रयोग रोकिनुपर्ने उनको भनाइ छ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–७ काङ्बाङमा पहिरोले चिरैचिरा पारेको छ। यो पहिरो आफंै आएको होइन, निम्त्याइएको हो। यहाँका केही परिवार सडक खनेपछि आएको पहिरोका कारण बिस्थापित भइसकेका छन्। वातावरणीय प्रभाव मूल्याङ्कन नगरी डोजर चालकको सीमित सीपमा खनिएको सडकका कारण क्षति हुने क्रम रोकिएको छैन।
पहिरोले माइली चेपाङको परिवार घरबारविहीन बनेको छ। वर्षौंसम्म स्थिर रहेको काङ्बाङ पाखो झरीसँगै बग्न थालेपछि माइलीको परिवारले गाउँ छाड्न बाध्य भयो। काङबाङ गाउँमा दर्जन परिवार सडकले निम्त्याएको पहिरोको जोखिमा छन्। सबैलाई घर–घरमा सडक चाहिने हुँदा पहाडी भूगोलमा पहिरोको जोखिम बढेको वडाध्यक्ष कुलबहादुर चेपाङले बताए ।
देशमै पहिरोको जोखिममा दोस्रो स्थानमा रहेको मकवानपुरको पश्चिमी क्षेत्रका गाउँ पहिरोबाट बढी प्रभावित छन्। पश्चिमी मकवानपुरको साविक १२ गाविसमा हजार बढी परिवार पहिरोका कारण भएका छन् । प्राविधिक अध्ययन बिना डोजरले खनेका सडकले सिन्धुलीमा जनधनको क्षति गर्न थालेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS