काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोल प्रसाद अर्याल (डीपी) ले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’बीच भएको सहमति कार्यान्वयन हुने बताएका छन् ।
रास्वपा इमानदार पार्टी भएको चर्चा गर्दै उनले बालेनलाई प्रधानमन्त्री बनाउने सहमति अक्षरश: पालना हुने बताएका हुन् । तत्कालीन समयमा धेरै सुझबुझका साथ सभापति लामिछाने र वरिष्ठ नेता साहबीच सात बुँदे सहमति गरिएको भन्दै उनले कार्यान्वयनमा एक इञ्च पनि दायाँ–बायाँ नहुने स्पष्ट गरेका हुन् ।
‘राजनीतिमा इमानदारिता बहुत महत्वपूर्ण हुन्छ । किनकि राजनीतिमा गरिएका कमिटमेन्टहरू जनताका लागि हुन्छ,’ उनले भने, ‘पक्कै पनि वरिष्ठ नेता र पार्टी सभापति बसेर तत्कालीन समयमा गरिएको सहमति धेरै सुझबुझका साथ भएको हो । त्यसमा हामी पनि साक्षी छौँ । त्यसकारण त्यहाँ जे सहमति गरिएको हो त्यो अक्षरश: पालना हुन्छ । त्यसमा एक इञ्च पनि दायाँ–बायाँ हुँदैन ।’
उनले पार्टीको इमानदारिता र मूल्यमान्यतामा आँच आउन नदिन पनि उक्त सहमति कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिएका छन् ।
रास्वपा सभापति लामिछाने र काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख बालेन साहबीच गत पुस १३ गते विभिन्न विषयमा सात बुँदे सहमति भएको थियो ।

फागुन २१ को निर्वाचलाई लक्षित गरी भएको त्यस सहमतिमा पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन साहलाई बनाउने उल्लेख छ ।

FACEBOOK COMMENTS