नेपालको स्वास्थ्य क्षेत्रमा परिचित नाम हो डा. चक्रराज पाण्डे ।
जीवनमा सधैं अप्ठ्यारो कामहरूको सामना गर्न रुचाउने डा. पाण्डे हालै काठमाडौंमा खुलेको फ्रन्टलाइन अस्पतालका क्लिनिकल डिभिजनका अध्यक्ष हुन् ।
यसअघि ग्राण्डी अस्पतालको नेतृत्व तहमा रहेर काम गरिसकेका उनी फ्रन्टलाइन अस्पताललाई दक्षिण एशियाकै गन्तव्यको रूपमा विकास गर्नेगरी अगाडि बढिरहेको बताउँछन् ।
आफ्नो नेतृत्वकालमै फ्रन्टलाइन अस्पताललाई देशकै उच्चस्तरको अस्पताल बनाउने उनको अठोट छ । वास्तवमा फ्रन्टलाइन अस्पताललाई हेल्थ केयरमा दक्षिण एशियाकै गन्तव्य अस्पता कसरी बनाउन लागिएको छ र अरु अस्पतालहरू भन्दा के कारणले भिन्न छ भन्नेलगायत थुप्रै जिज्ञासाहरूसहित कर्पोरेट खबरले अस्पतालका क्लिनिकल डिभिजन प्रमुख (अध्यक्ष) डा. चक्रराज पाण्डेसँग कुराकानी गरेको छ । प्रस्तुत छ, डा. पाण्डेसँग कर्पोरेट खबर प्रतिनिधिले गरेको कुराकानीको सम्पादित अंशः–
नयाँ अस्पताल सञ्चालनको तयारीमा जुटिरहनुभएको छ । खासमा अस्पतालको नाम नै ‘फ्रन्टलाइन’ कसरी रहन गयो ?
यो संस्था नोबेल ग्रुप अफ एजुकेशन फाउन्डेशनले निर्माण गरेको हो । जसको नाम फ्रन्टलाइन अस्पताल राखिएको छ । किनभने अहिले जे–जति कामहरू भइरहेका छन् सबै फ्रन्टलाइनमै भइरहेका छन् । जस्तोः युद्ध होस् वा कोभिडको ट्रिटमेन्ट । त्यसकारण यो संस्थाले देशको हेल्थ केयरमा रूपान्तरणकारी परिवर्तन ल्याउन सक्छ भन्ने आधारमा यो अस्पतालको नाम फ्रन्टलाइन हस्पिटल राखिएको हो ।
जुन अवधारणा बनाएर अस्पतालको नाम जुराउनुभयो । नामलाई साकार पोर्नेगरी के–कस्तो स्वास्थ्य सेवा दिने तयारी गर्नुभएको छ ?
पहिलो कुरा नेपालको हेल्थ केयरमा हाम्रो मिसस्टेटमेन्ट छ । बिरामीहरूलाई उच्च गुणस्तरको हेल्थ केयरसम्बन्धी सुविधाहरूको विकास गर्ने, त्यसका लागि राम्रो डाक्टर र स्टाफहरू पनि चाहियो, प्रोफेसनल व्यक्तिहरूसँग समन्वय गर्नु पर्यो र त्यो डाक्टरहरूले बिरामीलाई जाँच्दाखेरि ति कुराहरू पर्नुपर्यो । यसलाई हामी इभिडेन्स बेस्ड एप्रोज भन्दछौँ । स्वास्थ्योपचारको क्षेत्रमा विश्वमा नवीनतम विषयहरू के–के आइरहेका छन् त्यसलाई अनुशरण गर्नु पर्यो ।
एक जना मानिसले बिरामीको उपचार गर्न नसक्ने भएकाले २८ वटा भन्दा बढी विभागहरूको विकासका साथै टीम विल्डिङको काम हामीले गरेका छौँ । एकले अर्कोलाई सोध्नुपर्यो, कुराकानी गर्नुपर्यो र बिरामीलाई उपयुक्त उपचार र त्यसको विधि तय गर्नसक्ने प्रणालीको विकास गर्ने फ्रन्टलाइन अस्पतालको पहिलो मिशन हो ।
नेपालमा हेल्थकेयर र सम्भाव्यताको विकास गर्नाका साथै नेपालबाट विदेशमा जाने बिरामीहरूलाई यहीँ उपचार दिनसक्ने व्यावहारिक परिकल्पना हामीले गरेका छौँ । जसका कारण साउथ एशियाको एउटा राम्रो हेल्थ केयरको गन्तव्य बनाउने हाम्रो दीर्घकालीन सोच छ ।
पछिल्लो समय नेपालमा कोभिड महामारी तथा भूकम्पजस्ता विभिन्न परिस्थितिहरूमा सरकारी तथा निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूले मिलेर काम गरेको हुनाले हाम्रो उद्देश्य कोलाब्रेशन पनि हुने छ । हामीले मिलेर नै नेपालको हेल्थ केयरलाई रूपान्तरण गर्ने र एकले अर्कोलाई सघाउने खालको दीर्घकालीन योजना पनि हामीसँग छन् ।
उल्लेखित कुराहरूको एचिभमेन्टका लागि हामीले ‘थ्रीडी’ अवधारणा (डिटर्मिनेशन, डिलिजेन्स र डिसिप्लेन) विकास गरेका छौँ, जुन हाम्रो भ्यालु स्टेटमेन्ट पनि हो । यो अवधारणाले हामीलाई आफू लागेको काम गरेरै छोड्ने, स्वास्थ्य सेवालाई रूपान्तरण गर्ने, काममा निरन्तरता दिने तथा मानवीय धर्मका आधारमा सहयोगी भूमिका निर्वाह गर्दै उच्च अनुशासनमा रहन मद्दत गर्ने विश्वास गरिएको छ ।
दक्षिण एशियामैै नमूना अस्पताल बनाउने दृढता तपाईंले व्यक्त गर्नुभयो । त्यसका लागि थुप्रै चुनौतीहरू पनि होलान, कसरी सामना गर्नुहुन्छ ?
चुनौतीको कुरा गर्दा हाम्रो लाइफ नै ‘फुल अफ च्यालेञ्जेज’ हो । जुनसुकै काम गर्दा धेरै होस् या थोरै चुनौती आएकै हुन्छ । नेपालको कर्पोरेट हेल्थ केयरको नेतृत्व नै गरेको व्यक्तिको नाताले यो क्षेत्रमा आइपर्ने चुनौतीलाई मैले राम्रोसँग बुझेको छु ।
पब्लिक च्यालेञ्ज, मेडिकल च्यालेञ्ज, फाइनान्सियल च्यालेञ्जेज, सरकारी नीतिनियमको च्यालेञ्ज, बिरामीको उपचारमा हाम्रो इग्नोरेजलगायत धेरै च्यालेञ्जहरू छन् । यी र यस्ता चुनौतीहरूलाई हामीले सहर्ष आत्मसाथ गर्दै गुड इन्टेन्शन, कमिटमेन्ट, कम्प्याशन र हामीहरू अनेष्ट हुनुपर्दछ ।
यति गर्न सकियो भने चुनौतीहलाई एउटा किनारामा पु¥याउन हामी सफल हुन्छौँ । म तपाइँलाई प्रश्न गर्न चाहान्छु कि, चुनौतीविनाको काम हुन्छ त ? तर, चुनौतीलाई रिजल्भ गरी आफ्नो देशको हेल्थ केयरलाई ट्रान्सफर्मेशन गर्नुजस्तो राम्रो र ठूलो च्यालेञ्ज तपाइँले के अपेक्षा गर्नुहुन्छ ? ती सबै चुनौतीहरूलाई एक–एक गरी बुझ्दै टीम बिल्डिङ र गुड इन्टेशनबाट परास्त गर्दै चुनौतीहरूलाई सकारात्मक रूपमा लिँदै फ्रन्टलाइन अस्पताल अगाडि बढ्छ ।
नेपालमा बिरामी र तिनका आफन्तहरू अस्पताल जानुअघि आफ्नो आर्थिक मजबुतीबारे खुब चिन्ता गर्नुपर्ने अवस्था छ । अब फ्रन्टलाइन अस्पतालमा आउनुअघि उनीहरूले त्यो चिन्तालाई बढाउने कि घटाउने ?
यो सबै व्यावहारिक पाटो हो । यो अस्पताल बनाउँदा लगानीकर्ताहरूले गरेको लगानी तथा खर्चको अवस्थालाई पनि मैले आफ्नो तर्फबाट हेरिरहेको छु । बैंकहरूलाई उहाँहरूले तिर्नुपर्ने रकम, डाक्टरहरूको टीमलाई सस्टेन हुन चाहिने आवश्यक रकमलगायतलाई मैले अध्ययन गरिरहेको छु । विगत १२ वर्षदेखि हेल्थ केयरको नेतृत्व गरिरहेको नाताले मैले ति कुराहरूलाई नजिकबाट नियालिरहेको छु ।
सबै हेल्थकेयरको रूपान्तरणलाई फ्रन्टलाइन अस्पतालले नै रिजर्भ गर्छ भनेर मैले भनेँ भने त्यो पत्यारिलो कुरा हुन सक्दैन । तर, मध्यमवर्ग, तल्लो मध्यमवर्ग र माथिल्लो मध्यमवर्गलाई मात्रै मैले कन्टेन गर्न सकेँ भने धेरै पैसा देशमै रहन सक्छ । जस्तोः कतै एक लाख रूपैयाँ पर्ने सर्जरी हामीले ५० हजार रूपैयाँमै गर्न सक्यौँ भने बिरामीले ५० प्रतिशत सहुलियत पाउन सक्छन् । त्यसकारण ‘न्यू ट्रमा बजेट केयर’ भन्ने नयाँ अवधारणा मैले बनाइरहेको छु । बजारमा बनिरहेको पनि छु ।
‘ट्रमा बजेट’ अवधारणा अनुसार डाक्टरहरूलाई म के अनुरोध गर्न खोजिरहेको छु भने तपाइँहरूलाई सामान्यतः खाना, बस्न र लगाउन पुगिहाल्छ । लगानीकर्ताको हितलाई हेरेर पहिला संस्था बचाउँ, बिरामीको क्षमतालाई हेरेर ‘बजेट ट्रमा केयर’ मल्टी डिसेपेरी अप्रोच गरेर देशलाई हामीले टेक्नोलोजी र सर्भिसको कल्टीभेट गर्न हामी चाहान्छौँ ।
यसो भनिरहँदा हामीले पनि त पैसा कमाउनै पर्यो । पैसा नकमाइ स्टाफहरूलाई तनाखा कहाँबाट दिने, इक्वेपमेन्ट कहाँबाट किन्ने, ब्याज कहाँबाट तिर्ने, अर्बौं रूपैयाँ लगानी भएको ठाउँमा सावाँ (ऋण) कसरी तिर्ने, रिपेयर र मेन्टिनेन्स कहाँबाट गर्ने ।
यी सबैका लागि बिरामीसँग पैसा त लिनै पर्यो । अर्को कुरा सस्तो गरेर मात्रै पनि अस्पतालमा बिरामीको धुइरो लाग्ने पक्कै होइन, यो कुरामा पनि हामी स्पष्ट छौँ । अहिलेका बिरामी धेरै सचेत छन् । सस्तो गर्दा पनि यो अस्पतालको उद्देश्य के हो ? किन कम शुल्क वा निःशुल्क उपचार सेवा उपलब्ध गराइरहेको छ जस्ता प्रश्नहरू उब्जिरहन्छ ।
अब २६ वर्ष नेपालको हेल्थ केयरमा नेतृत्व गर्ने मान्छे (डा. चक्रराज पाण्डे) फ्रन्टलाइन अस्पतालमा छ भनेपछि बिरामीहरूले विश्वास गर्नुहुन्छ । त्यो विश्वासलाई हामी स्वास्थ्य उपचारमा रूपान्तरण गरेर पुष्टि गर्छौँ । त्यसका लागि हामीले प्रत्येक दिन राम्रो, राम्रो र राम्रो काम गर्न जरुरी छ । राम्रो काम ग¥यौँ भने बिरामीलाई धेरै भार नपारीकनै हामीले इनफ पैसा कमाउन सक्छौँ । त्यो पैसाले हामीलाई जे–जे गर्न पनि पुग्छ । त्यसैले एउटै बिरामीबाट घर बनाउने विचार नगर्न सरोकारवाला सबैमा म हार्दिकतापूर्वक अनुरोध गर्न चाहान्छु ।
तपाईंलगायत फ्रन्टलाइन अस्पतालमा के–कति अनुभवयुक्त डाक्टरहरूको आबद्धता रहने छ ?
अनुभव भन्ने कुरा काम गरेपछि प्राप्त हुने हो, जब काम नै गर्न पाएको छैन भने कहाँबाट अनुभव प्राप्त हुन्छ । त्यसकारण नयाँ युवा डाक्टरहरूलाई सही सल्लाहका साथ बिरामीको उपचारमा संलग्न गराउनुपर्छ, तब मात्रै उनीहरूले अनुभव गर्दै अगाडि बढ्न सक्छन् । मेरो कुरा गर्नुहुन्छ भने पनि २६ वर्षको मिहिनेत र सिकाइपछि ‘डा. चक्रराज’ भएको हो ।
लामो कार्यानुभवपछि बिरामीहरूले मप्रति विश्वास गर्ने वातावरण बनेको छ भने तपाइँहरूजस्ता प्रतिष्ठित मिडियाहरूको पनि म माथि नजर पर्न थालेको छ । त्यसकारण उनीहरूलाई पनि रूपान्तरण गर्नुपर्यो । आजको भोलि कोही पनि मानिस ज्ञान, विवेक र अनुभवले पोख्त बन्न सक्दैन । त्यसकारण नयाँ डाक्टर भयो भनेर बिरामीले अविश्वास गरिहाल्नुपर्ने र मलाइ नयाँ भन्यो, विश्वास गरेन भनेर हतोत्साही नहुन दुवै पक्षलाई अनुरोध गर्दछु ।
अनुभवी र नयाँ डाक्टरले प्रदान गर्ने सेवामा फरकपना हुन्छ भन्ने अधिकांश बिरामीको सोचाइ छ । वास्तविकता पनि त्यही हो ?
मैले मेरो मनबाट मेरो बिरामीलाइ के उपयुक्त हुन्छ भन्ने मैले सोचिनँ भने त्यो बिरामीले पाउने उपचार गुणस्तरको हुन सक्दैन । युवा डाक्टरहरू भनेर उहाँहरूलाई अन्डरमाइन गर्न हुँदैन । उहाँहरू धेरै सक्षम हुनुहुन्छ, किनभने नयाँ–नयाँ टेक्नोलोजी पढेर र सिकेर आउनुभएको छ । तर, उहाँहरूलाई सही गाइडलाइनको आवश्यकता भने पक्कै पर्छ ।
उहाँहरूबाट हामीले धेरै फाइदा लिन सक्छौँ । उहाँहरूले धेरै इन्भेष्टिगेशन भन्दा एभिडेन्स बेस्ड एप्रोचमा बिरामीलाई सम्झाउने, उनीहरूको टेलिफोन लिने, तपाइँलाई गाह्रो भएको अवस्थामा यो नम्बरमा फोन गर्नुहोस् भन्ने, केही प¥यो भने अर्को टेष्ट गरौँलाजस्ता कुराहरू गरे बिरामीहरूको मनोविज्ञानलाई सहज बनाउन सक्छौँ, जसले आधा बिमार निको हुन्छ ।
त्यसकारण मैले भन्ने गरेको छु, बिरामीको यो मनोविज्ञान, परिकल्पना र धार्मिक मनोविज्ञानलाई मिलाउने विज्ञान ‘आर्ट अफ ट्रिटमेन्ट’ नै मेडिसिन हो । मेडिसिनलाई हामी विज्ञान मात्र होइन यो एउटा आर्ट पनि हो भन्दछौँ । एटा डाक्टरले बिरामीसँग कसरी बोल्छ, उसको मन कसरी जित्छ, उसको आँखामा कसरी हेर्छ र बिरामीको मनोविज्ञानलाई कसरी सकारात्मक बनाउँछ भन्ने कुरामा उपचार सफलता जोडिन्छ ।
तर, हामी धेरै इन्भेष्टिगेशनतिर मात्रै ध्यान दिइरहेका छौँ । ९० प्रतिशत इन्भेष्टिगेशन गर्दा एक प्रतिशत पनि रोग पत्ता लाग्दैन । भनेपछि हाम्रो रिसोर्सजति इन्भेष्टिगेशनमा खेर गइरहेको छ । पैसा जसको होस् समग्रमा देशको पैसा पानीमा खेर गइरहेको छ ।
विभिन्न प्रकारका मेडिकल जाँचहरूको बारेमा यहाँले प्रसङ्ग उठाउनुभयो । खासगरी नेपालका प्रयोगशालाहरू शतप्रतिशत नतिजा दिनसक्ने खालका छन् कि छैनन् ?
नेपालमा धेरै ल्याबहरू खुलिसकेका छन् । निकै राम्रा राम्रा नाम गरेका ल्याबहरू सञ्चालनमा छन् । उनीहरूले उत्कृष्ट उपकरणहरू पनि राखेका छन् । तर त्यहाँभित्र हुने वर्कफ्लोलाई मोनिटरिङ गर्ने परिपाटी नहुँदा इन्टेष्टिगेशनका नतिजाहरू राम्रो भइरहेको छैन भन्ने मेरो बुझाइ छ ।
यससम्बन्धी सरकारका निकायहरूले निरन्तर अनुगमन गर्नुपर्दछ । जुनसुकै अस्पतालको किन नहोस् तीनका गुणस्तरबारे सरकारले हेर्नुपर्दछ । बिरामीका लागि ल्याब सुरक्षित हुनुपर्यो, आएका रिपोर्टहरूलाई हेरेर बिरामीको उपचारमा प्रयोग गर्न सकिन्छ कि सकिदैन भन्ने कुरालाई महत्वका साथ हेर्नुपर्ने बेला भएको छ ।
फ्रन्टलाइनले खडा गर्ने विभिन्न २८ वटा डिपार्टमेन्टहरू कुन–कुन हुन् ?
हाम्रो अस्पतालमा अर्थोपेडिकसम्बन्धीको विशेष र ठूलो टीम रहने छ । जसले दुर्घटनाबाट घाइते भएकाहरूको उपचार शीघ्र गर्ने छ । सकेसम्म दुर्घटनाका घाइतेहरूको उपचार आजको आजै गर्ने र दुई–तीन दिनमै घर पठाउने हाम्रो तीव्र इच्छासहितको लक्ष्य छ ।
यो काम मैले पहिलादेखि नै गर्दै आएको छु, मैले कसरी उपचार गर्छु धेरैजसो सर्वसाधारणलाई यो कुरा राम्रोसँग थाहा पनि छ । त्यस्तै आईसीयू केयर, कार्डियो केयर, न्यूरो केयर, जनरल सर्जरी, ल्याप्रोस्कोपी केयर, आर्थोस्कोपी केयरलगायत विभागहरू हामीसँग हुने छन् ।
त्यसैगरी डर्माटोलोजी र त्यसका विभिन्न विधाहरू, पल्मनोलोजी, स्लिप मेडिसिन, गाइनोक्लोजी, पेडियार्टिक्स, एनेस्थेलोजी र इन्टरभेन्सनल रेडियोलोजीजस्ता धेरै विभागहरू यहाँ रहने छन् ।
गम्भीर प्रकृतिका बिरामीले पनि पहिला पैसा जम्मा नगरेसम्म उपचार शुरू नै नगर्ने परिपाटी हामीकहाँ विद्यमान छ । यसलाई फ्रन्टलाइनले कत्तिको सहजता गर्छ ?
आकस्मिक रूपमा आएका बिरामीलाई काउन्टरमा पैसा जम्मा गर्न लगाएपछि मात्रै उपचार शुरू गर्नु एक किसिमको अपराध हो । किनभने बिरामीसँग एक पैसा छैन भने पनि हाम्रो कर्तव्य भनेको उसलाई बचाउनु हो, यसबाहेकको विकल्प डाक्टर र अस्पतालले सोच्नै हुँदैन ।
यद्यपि, १० जना त्यस्ता बिरामी फ्रन्टलाइन वा अरु कुनै अस्पतालमा आउनुभयो भने त अस्पताल डुब्छ । तर, बिरामीलाई प्रारम्भिक उपचार गरेर उसको जीवन खतरामुक्त बनाइसकेपछि प्रहरी प्रशासन, सरकारी अस्पतालहरू जस्तैः वीर, टिचिङ वा सिभिल अस्पतालहरूसँग समन्वय गरी एम्बुलेन्सको खर्चसहित ती अस्पतालमा रिफर गर्ने काम हामी गर्छौँ र यो सिद्धान्त मैले सधैं अवलम्बन गर्दै आएको पनि छु ।
यसरी अस्पतालले गरेको सेवावापतको पैसा अस्पतालमै आउनुभएका बिरामी तथा उहाँहरूका आफन्तहरूले पे गरिदिनुभएको पनि मैले पाएको छु । एउटा सत्य कुरा के हो भने मैले कसैलाई निःशुल्क उपचार गर्छु भने पनि त्यो इकोनोमिक्सले मान्दैन । यसको विकल्प हामीसँग राज्य छ, आफ्नो नागरिकको जीवन बचाउने दायित्व सरकारको पनि हो ।
उपचारका लागि विदेशी अस्पताल जाने परम्परा पनि हामीकहाँ धेरै छ, जसले पुँजी पलायनलाई समेत टेवा दिइरहेको पाइन्छ । उनीहरू के कारणले विदेशी अस्पताल रोजिरहेका छन् ?
जुन परिस्थितिको चित्रण तपाइँले गर्नुभयो त्यसको सम्पूर्ण दोष एक जना डाक्टरको हैसियतले म लिन्छु । उपचारका लागि जो विदेश जानुहुन्छ उहाँहरूलाई दिन्नँ । उच्च गुणस्तर र राम्रो प्रोटोकल भएको स्वास्थ्य संस्था हामीले स्थापना गर्न सक्ने र उपचारमा विश्वास दिलाउन सक्ने हो भने कोही पनि व्यक्ति उपचारका लागि विदेश जान पर्ने थिएन् ।
पैसा हुनेले त नेपालमै पनि महङ्गो गाडी चढिरहनुभएको छ, सुविधासम्पन्न घर बनाउनुभएको छ, खानपान र जीवनशैली उच्च बनाउनुभएको छ । उहाँहरूले त्यो गर्न पाउनुहुन्न भन्ने त होइन नि । त्यसैले दोष उहाँहरूको होइन हाम्रो हो । हामीले मेहनत गर्नुप¥यो, अमेरिकन र युरोपियन भन्दा राम्रो हुने सिस्टम क्रियट गर्नुपर्यो ।
खै हामीले त्यो कहाँ गरेका छौँ ? एउटा मानिस चाहे धनी होस् या गरीब आफ्नो जीवन बचाउन के–के सम्म गर्छ हामीले देखेका छैनौँ र ? अनि कोही मानिस उपचारका लागि विदेश गयो भनेर हामी दुःखी हुनुपर्दैन । हामी सच्चिएर अगाडि बढ्नुपर्दछ ।
FACEBOOK COMMENTS