पोखरा कार्तिक १७, गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा पहिलो पटक प्रदेशस्तरीय नाटक निर्देशन कार्यशाला भएको छ । गत कात्तिक ५ देखि सुरु कार्यशालामा २२ जनाले प्रशिक्षण लिएका छन् ।
कार्यशालाको सोमबार समापन समारोह गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कला, साहित्य र भाषाको संरक्षण गर्नका निम्ति गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानको स्थापना गरिएको बताए ।
‘कला, साहित्य, भाषाको कदर हुने समाज निर्माण गरी मौलिक र सुसंस्कृत बनाउने पहिलो प्रयासमा गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना गरिएको हो,’ गुरुङले भने । प्रतिष्ठान पूर्ण भने नभएको भन्दै सुरुवात मात्र गरिएको उनको भनाइ थियो । पोखरामा व्यक्तिगत प्रयासमा थिएटर स्थापना हुनु ज्यादै सकारात्मक कार्य भएको भन्दै उनले प्रशंसा गरे । यस्ता थिएटर सरकारले स्थापना गर्नुपर्नेमा उनको जोड थियो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा भएको समापन कार्यक्रममा गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवर, वरिष्ठ रंगकर्मी अनुप बराल, पोखरा थिएटरका अध्यक्ष परिवर्तन, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, सदस्य सचिव मनकुमार श्रेष्ठ, कार्यशालाका संयोजक समेत रहेका प्राज्ञ सदस्य सुरेन्द्र गुरुङ, प्रशिक्षार्थीहरु ज्योति हमाल, किसान विकले बोलेका थिए ।
कार्यशालामा सहभागीले तयार पारेका २ नाटकसमेत समापन समारोहमा मञ्चन गरिएको थियो । ‘ह्वाट इफ’ र ‘सन्तानको सौगात’ शीर्षकमा मञ्चित ती नाटकले उपस्थित दर्शकको राम्रो साथ पाए । कार्यशालामा मनाङ र मुस्ताङबाहेक ९ जिल्लाको प्रतिनिधित्व थियो । १५ जना प्रशिक्षकले प्रशिक्षार्थीलाई प्रशिक्षण गराएका थिए ।
कार्यक्रम संयोजक सुरेन्द्र गुरुङले कार्यशालाले गण्डकी प्रदेशमा नाटकप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने बताए । प्रतिष्ठानले नाटकसँग सम्बन्धित अन्य कार्यक्रमसमेत आयोजना गर्ने सदस्य सचिव मनकुमार श्रेष्ठले जनाए । पोखरा थिएटरसँगको सहकार्यमा आयोजित कार्यशाला पोखरा थिएटरको गन्धर्व नाटकघरमा सञ्चालन भएको हो ।