काठमाडौं । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले ‘फास्ट डेलिभरी’ सेवा प्रारम्भ गरेको छ ।
यस नयाँ देशव्यापी सेवाअन्तर्गत योग्य सामानहरू खरिदकर्ता र विक्रेतालाई कुनै अतिरिक्त शुल्क नलिई पहिलाभन्दा छिटो अर्डर डेलिभरी गरिनेछ ।
असार २६ गते नेपालमा सुरु गरिएको ‘फास्ट डेलिभरी’ सेवाले अनलाइन किनमेलको अनुभवलाई अझ उत्कृष्ट बनाउने तथा नेपालको बढ्दो ई–कमर्स व्यवसायलाई थप सुदृढ बनाउने दराजको दाबी छ । विक्रेताको उत्कृष्ट अर्डर व्यवस्थापन क्षमता र दराजको देशव्यापी लजिस्टिक्स सञ्जाललाई संयोजन गर्दै ‘फास्ट डेलिभरी’ ट्याग भएका सामानले समय र विश्वसनीयताका उच्च मापदण्ड निरन्तर कायम राख्ने सुनिश्चित गरिएको छ ।
सेवा सुरु हुँदाका अवस्थामा दराज नेपालमा हुने कुल अर्डरमध्ये झन्डै ५० प्रतिशत अर्डर ‘फास्ट डेलिभरी’का लागि योग्य रहेका छन् । दैनिक उपभोग्य वस्तु, जनरल मर्चेन्डाइज, इलेक्ट्रोनिक्स तथा फेसनलका उत्पादन यस सेवाअन्तर्गत समेटिएका छन्, जसले दैनिक आवश्यकतादेखि जीवनशैलीसँग सम्बन्धित खरिदसम्म यसको व्यापकता देखाउँछ ।
खरिदकर्ता र विक्रेतामाथि कुनै अतिरिक्त शुल्क नपर्ने गरी ‘फास्ट डेलिभरी’ सेवा उपलब्ध गराउन दराजले आफ्नो लजिस्टिक्स क्षमतामा रणनीतिक लगानी गरेको छ । यसले ग्राहकका लागि किनमेललाई किफायती र विक्रेताका लागि सेवा पहुँचयोग्य बनाउँदै यो सेवा सम्भव बनाएको हो ।