काठमाडौं । अभिनेता अजय देवगनको फिल्म दृश्यम- ३: द कन्क्लुजन’ ले प्रदर्शनको पहिलो दिन भारतीय बक्स अफिसमा ६६.७५ करोड भारु कमाएको छ । यो अजय देवगनको करियरकै सबैभन्दा ठूलो सुरुवाती कमाइ हो । अभिषेक पाठकको निर्देशनमा बनेको फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएको हो ।
सैकनिल्कका अनुसार फिल्मले भारतमा ६६.७५ करोड भारु खुद कमाइ गरेको छ । यसको कुल कमाइ ८०.१० करोड भारुभन्दा बढी पुगेको छ । विदेशमा समेत १५ करोड भारु कमाएपछि फिल्मको विश्वव्यापी कुल कमाइ ९५.१० करोड भारु पुगेको छ ।
‘दृश्यम ३’ यो वर्ष सबैभन्दा ठूलो सुरुवाती कमाइ गर्ने हिन्दी फिल्ममध्ये दोस्रो बनेको छ । यसअघि ‘धुरन्धर द रिभेन्ज’ रहेको छ । हिन्दी फिल्मको इतिहासमा पनि यो तेस्रो ठूलो सुरुवात गर्ने फिल्म बनेको छ । फिल्मले रणवीर सिंहको ‘धुरन्धर’को ३० करोड, शाहरुख खानको ‘पठान’को ५७ करोड र रणबीर कपूरको ‘एनिमल’को ६३ करोड भारुको पहिलो दिनको कमाइलाई पछाडि पारेको छ । विश्वव्यापी कमाइमा पनि फिल्मले ‘कल्कि’को ९५ करोड र ‘सलार’को ९१ करोड भारुको सुरुवाती कमाइलाई उछिनेको छ ।
फिल्मको अग्रिम बुकिङमा समेत ठूलो माग देखिएको थियो । बुकिङ सुरु भएको सात दिनमा भारतमा ६०.१७ करोड भारु बराबरको अग्रिम कारोबार भएको थियो । अवरुद्ध गरिएका सिटको कमाइ हटाउँदा अग्रिम कारोबार ४९.२९ करोड भारु रहेको थियो । यस अवधिमा करिब १८.०२ लाख टिकट बिक्री भएको थियो ।
यसअघि अजय देवगनको सबैभन्दा ठूलो सुरुवाती कमाइको कीर्तिमान ‘सिंघम अगेन’को नाममा थियो । उक्त फिल्मले पहिलो दिन ४३.५० करोड भारु कमाएको थियो । ‘दृश्यम ३’को पहिलो दिनको प्रदर्शनपछि सप्ताहन्तमा कमाइ अझ बढ्ने अपेक्षा गरिएको छ ।

फिल्ममा अजय देवगन पुनः विजय सालगाउँकरको भूमिकामा देखिएका छन्। उनीसँगै तब्बु, श्रिया सरन, इशिता दत्ता, मृणाल जाधव, रजत कपूर र प्रकाश राज पुरानै भूमिकामा फर्किएका छन्। यसपटक जयदीप अहलावत पनि फिल्ममा नयाँ पात्रका रूपमा जोडिएका छन्।

यसअघि अभिनेता अक्षय खन्नाले अन्तिम समयमा फिल्म छाडेको विषय पनि चर्चामा आएको थियो। निर्देशक अभिषेक पाठकका अनुसार अजय देवगनसँग अक्षयका दृश्य छायांकन हुनुभन्दा एक साताअघि उनले फिल्म छाडेका थिए। त्यसपछि निर्माताले तीन दिनमै कथा पुनर्लेखन गरी अक्षयको भूमिका नयाँ पात्रमा परिवर्तन गर्दै जयदीप अहलावतलाई सहभागी गराएका थिए ।