काठमाडौँ । लागू औषध नियन्त्रण सम्बन्धी अभियानअन्तर्गत काठमाडौंका विभिन्न स्थानहरूबाट खैरो हेरोइन जस्तो देखिने लागू औषधसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट कूल १७।५० ग्राम लागू औषध र नगद ५० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार २०८२ साल साउन १२ गते साँझ ७:३० बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलस्थित सडक खण्डमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा १० ग्राम लागू औषध र नगद ५०,००० रुपैयाँसहित दुई जना पक्राउ परेका हुन्। उनीहरूलाई बौद्ध प्रहरी वृत्तबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
त्यसैगरी, साउन १३ गते बिहान करिब ११:०० बजे चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गास्थित चेकपोस्टमा बर्दियाबाट काठमाडौं आउँदै गरेको बा।प्र।०१–००६ ख ५५२२ नम्बरको यात्रुवाहक बसमा सवार दुई जनाको साथबाट ७।५० ग्राम लागू औषध बरामद गरिएको छ। उनीहरूलाई प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुङ्गाको संयुक्त टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरूको विवरण यस प्रकार छ:
१। यम बहादुर क्षत्री (४१), स्थायी ठेगाना: साँगाचोकगढी नगरपालिका–२, सिन्धुपाल्चोक; हाल बसोबास: अत्तरखेल, काठमाडौं।
२। रोसन कार्की (२४), शंखरापुर नगरपालिका–९, साँखु, काठमाडौं।
३। जलील अहमद सई (२२), गुलरिया नगरपालिका–११, बर्दिया।
४। प्रेम राई दास (३१), ठेगाना खुलाइएको छैन।
पक्राउ परेका सबै व्यक्तिहरूलाई लागू औषध सम्बन्धी कसूरमा अनुसन्धानका लागि आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
FACEBOOK COMMENTS