काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि फ्लाई दुबईले आफ्नो उडानहरू रद्द गरेको छ ।
विमानस्थल बन्द भएपछि सोमबारका लागि टिकट काटेका यात्रुलाई विमानस्थल नआउन र एयरलाइन्सको वेबसाइटमार्फत टिकट व्यवस्थापन गर्न अनुरोध गरिएको हो ।
विमानस्थलनजिकै आगो लागेपछि यात्रु र कर्मचारीको सुरक्षाका लागि दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द भएको छ भने एयरलाइन्स कम्पनीहरूले उडान स्थगित गरेका छन् ।
सोमबार दुबई विमानस्थलबाट काठमाडौंका लागि फ्लाई दुबई र हिमालय एयरलाइन्सको उडान तय भएका थिए । गल्फ न्युजका अनुसार सोमबार भएको ड्रोन आक्रमणबाट विमानस्थलनजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको थियो ।
२८ फेब्रुअरीदेखि अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएपछि यसअघि पनि ६ दिन दुबई विमानस्थल बन्द भएको थियो । युद्धपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण तीव्र रूपमा भइरहेको छ ।

विशेषगरी खाडीका देशमा रहेका अमेरिकी कूटनीतिक नियोग र सैन्य अड्डाका साथै तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवनहरूमा समेत आक्रमण भइरहेको छ ।

FACEBOOK COMMENTS