काठमाडौं– शुक्रबार ढिला गरेर सुरु भएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पदाधिकारी चयन नहुदैँ सकिएको छ।
शुक्रबार बिहान बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पदाधिकारीको नाम सिफारिस गर्ने र बैठकबाट अनुमोदन गर्ने भनेका थिए । तर, शुक्रबारको बैठकमा टुंगो हुन नसकेकाे माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले जानकारी दिए।
‘टुंगोमा अझै पुग्या छैन, पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा गम्भीर रुपले छलफल गर्यौं,’ शुक्रबारको बैठकका विषयमा महराले भने। अब पदाधिकारीका विषयमा छलफल गर्न बाँकी कुरा नरहेको महराको भनाइ छ। ‘पदाधिकारीको विषयमा लगभग टुंगोमा पुगिसकेको छ। सम्भवत: अब बस्ने बैठकले टुंगो लगाउँछ। पदाधिकारीका विषयमा छलफल गर्न बाँकी विषय अब छैन,’ महराले भने।
नेताहरु विभिन्न कार्यक्रममा सरिक हुनुपर्ने र पार्टीको भातृ संगठन वाईसीएलको भेलामा पनि सहभागी हुनुपर्ने भएकाले शुक्रबारको बैठक स्थगित गरिएको महराले जानकारी दिए । अर्को बैठक शनिबार दिउँसो १ बजे बस्ने उनको भनाइ छ।
शुक्रबारको बैठकमा स्थायी समिति सदस्यहरुले पदाधिकारी चयनको विषयलाई चाँडो टुंग्याइनुपर्ने बताएकाे थियाे। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैको कुरा सुनेका भए पनि निष्कर्ष भने भोलि मात्रै सुनाउने भनेर जानकारी दिएको महराले बताए। ‘सबै नेताहरुले पदाधिकारी टुंगो लगाउनुपर्ने भनेर जोड दिनुभयो। अध्यक्षले सबैको कुरा सुनेर आफ्नो धारणा भोलि (शनिबार) सुनाउने भन्नुभयो,’ महराले भने।
शुक्रबारको बैठकमा नेताहरुले पदाधिकारीमा जसलाई ल्याएपनि आफूहरुले असन्तुष्टि नजनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
‘सबै नेताहरुले अध्यक्षलाई एकस्वर जस्तै भन्नुभएको छ– पदाधिकारी चयन छिटो हुनुपर्यो। जसलाई बनाए पनि हाम्रो सहमति हुन्छ। हामी मानेर जान्छौं, तर टुंगोमा पुग्नुपर्छ भन्ने उहाँहरुको भनाइ रह्यो,’ माओवादीका एक स्थायी समिति सदस्यले भने, ‘आजको बैठकको उपलब्धि नै यही रह्यो। कसैलाई बनाउँदा कोही असन्तुष्ट हुने अवस्था रहेन।’
FACEBOOK COMMENTS