काठमाडौं । राजतन्त्र र हिन्दु राष्ट्र ब्युँताउने तथा २० लाख रुपैयाँभन्दा कमको सबै ऋण मिनाहा गरिनुपर्ने मागसहितको अभियान चलाउँदै आएका अभियन्ता एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाइँ यतिबेर भक्तपुरको ठिमीस्थित आफ्नै निवासमा नजरबन्दमा परेका छन् ।
आफूलाई सरकारले ‘हाउस एरेष्ट’ गरेको उनले बताएका छन् । तर, आफूलाई रोक्दैमा र छेक्दैमा आफ्नो अभियान नरोकिने पनि उनले बताएका छन् । आफ्नै टाउकाको मूल्य तोक्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग घाँटी जो आफ्नो आन्दोलन दबाउने प्रयास नगर्न प्रधानमन्त्री र गृहमन्त्रीलाई उनले चेतावनी समेत दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई लक्षित गर्दै उनले भने, ‘हिँजो तपाइँहरूलाई त्यो ठाउँमा पुर्याउनका लागि हामीले नै बलिदान गरेका हौँ । हामीले नै हो रगत बगाएको, हामीले नै हो आन्दोलन गरेको, कति छिटो बिर्सिनुभयो तपाइँहरूले ? तपाइँहरूलाई आतंककारी घोषणा गर्ने र टाउकाको मूल्य ५०/५० लाख रुपैयाँ तोक्ने शेरबहादुर देउवासँग किन घाँटी जोड्नुहुन्छ ? नजोड्नुस्, सच्चा कम्युनिष्ट बन्नुहोस् न ।’
उनीहरूले देश र जनताका हितमा काम गर्न नसकेकै कारण अहिले आफूहरू सडकमा आउनुपरेको उनको भनाइ छ ।
उनको नेतृत्वमा आज काठमाडौंको तीनकुनेमा प्रदर्शनको तयारी गरिएको र सोही प्रदर्शन रोक्न सरकारले उनलाई नजरबन्दमा राखेको बताइएको छ । प्रसाईंको अभियानलाई तीनकुनेमा प्रदर्शनको अनुमति नदिइएको भन्दै काठमाडौं प्रशासनले उनलाई घरमै रोकेको स्पष्ट पारेको छ ।
प्रसाईं निवासमा अहिले प्रहरी परिचालन भएका छन् । तीनकुने क्षेत्रमा पनि ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् ।
FACEBOOK COMMENTS