काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बागमती प्रदेशको नवौँ प्रदेश सभा आजदेखि प्रदेश राजधानी हेटौंडामा सुरू भएको छ ।
अहिले प्रदेश सभाको उद्घाटन र बन्दसत्र चलिरहेको छ ।
आज र भोलि सञ्चालन हुने प्रदेश सभाले आगामी नेतृत्व चयन गर्ने तयारी छ । जस अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्ने निर्वाचन कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्लेले जानकारी दिए ।
जस अनुसार आगामी कार्यकालका लागि महासंघका उपाध्यक्ष दुर्गाराज श्रेष्ठ प्यानलसहित निर्वाचन मैदानमा छन् । प्रदेश महासंघलाई नीतिगत रूपमा सशक्त, संस्थागत रूपमा सबल र व्यवसायीका लागि ओझिलो उपस्थिति भएको संस्था बनाउने सङ्कल्पसहित उनले अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेको उनको भनाइ छ ।


अध्यक्षका उम्मेदवार श्रेष्ठले बागमती प्रदेशका सबै जिल्ला नगर, वस्तुगत र एसोसिएट सदस्यहरूको भावनालाई समेट्दै आफूलाई निर्वाचित गराउन अपिल गरेका छन् । उनले केवल पदका लागि नभई निजी क्षेत्रको साख जोगाउन र नतिजामुखी काम गर्नका लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारेका छन् ।

यस्ता छन् श्रेष्ठका सातबुँदे मुख्य एजेण्डाहरू–

१) भौतिक पूर्वाधारको विकास
बागमती प्रदेश महासंघको आफ्नै सुविधासम्पन्न भवन निर्माण गर्ने
२) संस्थागत सुदृढिकरण
जिल्ला नगर तथा वस्तुगत उद्योग वाणिज्य संघहरु एवम् एसोसियट सदस्यहरुको संस्थागत क्षमता अभिवृद्धि गर्ने
आयमूलक र आत्मनिर्भता प्रवद्र्धन सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्ने
स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारसहित उद्योग वाणिज्य महासंघसँग समन्वय गरेर उद्योगी व्यवसायीहरुको कानुनी तथा नीतिगत विषयहरुमा प्रभावकारी पैरवी गर्ने
३) एसएमईज प्रवर्द्धन
साना तथा मझौला उद्यम (एसएमईज)लाई सहुलियत र कर छुट जस्ता सुविधा उपलब्ध गराउन पहल गर्ने
उद्यम र व्यवसाय दर्ता तथा नवीकरणमा एकद्वार प्रणाली लागू गर्न ठोस र सार्थक पहल गर्ने
मेला, महोत्सव र प्रदर्शनीहरु आयोजना गरेर साना तथा मझौला उद्यमहरुको उत्पादन तथा सेवाको बजारीकरणमा सहयोग गर्ने
४) नीतिगत सुधार
कर, लेखा, नापतौल र बजार अनुगमनलाई व्यस्थित बनाउने
स्थानीय तह र प्रदेश सरकारलाई उद्यम र व्यवसायमैत्री नीति तर्जुमा गर्न सहयोग गर्ने
५) डिजिटल रुपान्तरण
उद्यम व्यवसायलाई डिजिटल फ्रेमवर्कभित्र ल्याउन स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गर्ने
उद्यम व्यवसायमा डिजिटल प्रविधिको प्रयोगबारे प्रशिक्षण र तालिम कार्यक्रम सञ्चालन गर्ने
६) आद्योगिक विकास
बागमती प्रदेशभित्र पहिचान भएका औद्योगिक क्षेत्रहरुमा उद्योगीहरुले सहजै उद्योग स्थापना गर्न सक्ने वातावरण बनाउन भूमीका निर्वाह गर्ने
औद्योगिक क्षेत्रको जग्गा भाडा र अन्य दस्तुरहरु लगानीकर्ता मैत्री बनाउन पहल गर्ने
स्थानीय तहहरुमा पहिचान भएका र पहिचान हुने औद्योगिक ग्रामहरुलाई सम्बन्धित जिल्ला नगर, वस्तुगत र एसोसियट सदस्यहरुसँग जोड्ने
७) सशक्त प्रतिनिधित्व
उद्योगी व्यवसायीहरुलाई नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश पनि छ भनेर महशुस हुने गरी काम गर्ने
प्रदेश र केन्द्र सरकारसँग उद्योगी व्यवसायीका माग र मुद्दामा स्ट्रङ लविङ गर्ने
उद्योग वाणिज्य महासंघसँग समन्वय र सहकार्य गर्ने