काठमाडौं । चैत १५ गते तीनकुनेमा भएको घटनासँग सम्बन्धित रहेको भन्दै दुर्गा प्रसाईंलाई पक्राउ गरिएलगत्तै सत्तारुढ कांग्रेस–एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने भन्दै दबाब बढाएका छन् ।
उनीहरूले संसदीय समितिको बैठकमा पूर्वराजा शाहप्रति आक्रोश व्यक्त गर्दै कानुनी दायरामा ल्याउनुपर्ने धारणा व्यक्त गरेका हुन् । चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनको मुख्य योजनाकार ज्ञानेन्द्र शाह भएको उनीहरूको ठहर छ ।
आज बसेको कानून समितिको बैठकमा नेपाली कांग्रेसका सांसद जीवन परियारले पूर्वराजा शाहलाई समितिको बैठकमा बोलाउनुपर्ने बताएका छन् । उनलाई समितिमा बोलाएर चैत १५ गतेको घटनाबारे छानबिन गर्नुपर्ने उनको भनाइ छ । पूर्वराजालाई समितिको बैठकमा बोलाएर मानव अधिकार उल्लंघन हो कि होइन ? भनेर प्रश्न नगरिनुपर्ने धारणा अघि सारेका छन् । उनले संविधानको नजरमा सबै बराबरी रहेको भन्दै अराजकता मच्चाउने छुट कसैलाई नभएको बताएका छन् ।
यस्तै, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले तीनकुने घटनाका सन्दर्भमा कहिँ न कहिँ पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जवाफदेहिताको तहमा ल्याइनुपर्ने बताए । ‘फागुन ७ गते पूर्वराजाले जुन आह्वान गर्नुभयो । उहाँले बेला आएको र जनताहरुले साथ दिनुपर्छ भन्नुभएको छ । त्यसपछि घटनाहरु प्रारम्भ भएको देखिन्छ । यति ठूलो घटना हुँदा उहाँले सार्वजनिक गरेको आह्वानबाट उत्साही भएर जे घटना भइरहेका छन्, त्यो घटनासँग जोडेर कुनै प्रतिक्रिया दिनुभएको छैन,’ उनले भने, ‘पूर्वराजाबारे पनि सार्वजनिक प्रश्न उठेको छ । निरुपण गरिनुपर्छ ।’
यस्तै, उनले चैत १५ गते राजावादीहरुको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईले प्रहरीलाई मार्ने उद्देश्यले गाडी चलाएको बताएका छन् । मार्ने उद्देश्यले प्रहरीमाथि गाडी चढाउन खोज्दा समेत प्रहरीले शालिनता प्रस्तुत गरेको उनको तर्क छ । ‘त्यहाँ ठूलो मानवीय क्षति हुनसक्ने हामीले भिडिओहरुबाट देख्छौँ । दुर्गा प्रसाईंजी प्रहरीको नियन्त्रणमा आइपुगेको भन्ने हामीले सुनेका छौँ । कोही कसैलाई पनि उन्मुक्ति नहोस्, कानुनबमोजिम कारबाहीको दायरामा ल्याउनले कुरामा सरकारको दृढतापूर्वक पहलकदमी होस्,’ उनले भने ।
FACEBOOK COMMENTS