काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका प्रसाईंलाई शुक्रबार सर्वोच्चले रिहा गर्न निर्देशन दिएको हो।
दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटअनुसार उनलाई सर्वोच्चमा उपस्थित गराइएको थियो। न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।
प्रसाईंले साइबर अपराधको मुद्दामा धरौटीमा रिहा भए पनि प्रहरीको गलत मनसायका कारण पुनः पक्राउ गरिएको दाबी गर्दै साधारण तारेखमा रिहा गर्न माग गरेका थिए। अदालतले उनको निवेदनअनुसार रिट जारी गरेको हो।
यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको आरोपमा प्रसाईं पक्राउ परेका थिए। उक्त मुद्दामा धरौटीमा रिहा भए पनि व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी अर्को पुर्जीका आधारमा उनलाई पुनः पक्राउ गरिएको थियो।
FACEBOOK COMMENTS