काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको अभियानले मंसिर ७ गते आयोजना गरेको काठमाडौं केन्द्रित प्रदर्शनका लागि उपत्यका बाहिरबाट आएका महिलाहरुलाई युवा संघका कार्यकर्ताले मध्यराति होटलबाट लखेटेका छन् ।
इटहरीबाट आएका प्रसाईंका समर्थक बसेको लोकन्थलीस्थित पार्टी प्यालेसबाट मध्येरातमा एमाले समर्थक युवा संघका कार्यकर्ताले उनीहरुलाई राति साढे ११ बजेतिर निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
भाइरल भिडियोलाई युवा संघले अस्वीकार गरेको छ भने आफूहरुको बदनाम गराउनका लागि गरिएको षडयन्त्र भनेको छ । प्रसाईं समर्थकले भने युवा संघका कार्यकर्ताले नै यस्तो हर्कत गरेको आरोप लगाएका छन् ।
‘दुर्गे प्रसादलाई फोन गर्नु त युवा संघले लघार्यो भनेर’ भन्दै सुत्ने तयारीमा रहेका युवा संघका कार्यकर्ताले होटलबाटै लखेटेका हुन्।
‘तपाईं ७ गतेको कार्यक्रममा आउनुभएको हो, हेलो दिदीहरु?’ भन्दै युवासंघका कार्यकर्ताले भनेको भिडियोमा सुन्न सकिन्छ भने जवाफमा महिलाले, ‘हामी जान्छौं हो जान्छौं । लुगालगाउन दिनुन’ भनेको सुन्न सकिन्छ ।
महिलाहरुले आफू सुत्ने क्रममा रहेको भन्दै लुगा लगाउन अनुनय गरेको भिडियोमा देखिन्छ। त्यसैगरी उनीहरु एकरात मात्रै बस्न दिन आग्रह गरिरहेका छन्।
महिलाहरु इटहरीबाट आएको भिडियोमा सुन्न सकिन्छ ।
‘देखाइदिन्छौं भन्दै आएको होइन? देखाइदिन्छौं काठमान्डौंबाट हाम्रो ठाउँमा’ भन्दै युवा संघका कार्यकर्ताले धम्की दिएका थिए।
मध्यरातमा होटलमा सुत्ने तयारीमा रहेका प्रसाईं समर्थकलाई युवा संघका कार्यकर्ताले लखेटेपछि त्यसको सर्वत्र आलोचना भइरहेको छ । कतिपय एमालेका कार्यकर्ताहरुले समय युवा संघको यस्तो हर्कतको सामाजिक सञ्जालमार्फत बिरोध गरिरहेका छन् ।
लोकतन्त्रमा बिरोध गर्न पाउने तथा शान्तिपूर्ण रुपमा भेला हुन पाउने अधिकारको हनन गर्न खोजिएको भन्दै एमाले नेता महेश बस्नेत र युवा संघको आलोचना भइरहेको हो ।
प्रसाईं नेतृत्वको अभियान र युवा संघ दुवैले ७ गते राजधानीमा प्रदर्शनको आयोजना गरेका छन् । युवा संघले तीनकुने र प्रसाईंले बल्खुमा कार्यक्रम गर्दै छन् ।
FACEBOOK COMMENTS