काठमाडौं । झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिनेगरी सर्वोच्च अदालतले दिएको आदेशको स्वागत गरेका छन् ।
सरकारले आफूलाई १३ वर्षसम्म अन्यायमा गरिरहेको अवस्थामा सर्वोच्च अदालतले न्याय दिएको भन्दै उनले खुसी व्यक्त गरे । करिब ३ साता लामो भारत बसाइपछि फर्किएका उनले अब बैंकको ऋण पनि तिर्ने बताए ।
‘हामीलाई मेडिकल कलेज खोल्न आशय पत्र दिएर १३ वर्षसम्म सम्बन्धन रोक्दै रुवाएर, तड्पाएर राखेका थिए’, उनले भने, ‘सर्वोच्च अदालतबाट सम्बन्धन दिने आदेश हुँदा देशमा न्याय मरेको छैन भन्ने प्रमाणित भयो । न्यायपालिकालाई धन्यवाद दिन्छु ।’
उनले सम्बन्धन पाउने पक्का भएकाले अब मेडिकल कलेज चलाउने बताए । सम्बन्धन पाएसँगै मेडिकल कलेज चलाएर बैंकको सबै ऋण तिर्ने प्रतिबद्धता पनि प्रसाईंले जनाएका छन् ।
‘मेडिकल कलेजले सम्बन्धन पायो । अब म बैंकको पैसा तिर्छु । तर अब देश बचाउने मेरो लडाइँ झन् सशक्त हुन्छ’, उनले भने, ‘मेडिकल कलेजले सम्बन्धन पाएपछि अबसँग पैसा पनि हुन्छ, लडाइँ झन् आक्रमक हुन्छ । दायाँबायाँ हुँदैन, प्रष्ट यही हो ।’
उनले सम्बन्धन उपहारमा नपाएको बताउँदै अब बैंकको ऋण तिर्न पनि सहज हुने बताए । मैले कहिले पनि ऋण तिर्दिनँ भनेको थिइनँ । २० लाखभन्दा मुनिको गरिबको पैसा तिरिदेऊ न भनेको हो सरकारलाई’, उनले भने, ‘अब म झन् सशक्त भएको छु । सम्बन्धन पाएँ अब लडाइँ अझै सशक्त हुन्छ । सम्बन्धनको लडाइँ आफ्नो ठाउँमा छ । तर म देश बचाउने अभियानमा रोकिन्नँ ।’
FACEBOOK COMMENTS