काठमाडौँ । दुर्गा प्रसाईं उच्च अदालतको आदेशपछि कारागार मुक्त भएका छन् । रिहा भएपछि पहिलो पटक सार्वजनिक रुपमा फेसबुकबाट प्रतिक्रिया दिँदै उनले देश तथा विदेशमा रहेका सबै समर्थक र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन् ।
प्रसाईंले भनेका छन् ‘जिल्ला अदालतको आदेशअनुसार म खुशी साथ कारागार गएको थिएँ, उच्च अदालतको आदेशले आज मलाई घर फर्किने बाटो देखायो । तर मेरो यात्राको अन्त्य होइन, देश निर्माणका योजनासहित म पुनः अघि बढ्दैछु ।’ उनले अदालतप्रति विश्वास व्यक्त गर्दै न्याय प्रणाली अझै बाँचेको महसुस दिलाएको उल्लेख गरे ।
उनले भनेका छन्’ सम्मानित उच्च अदालतको आदेशले म आज कारागार मुक्त भएको छु । सर्वप्रथम त यस अवधिमा साथ, सहयोग र हौसला प्रदान गर्ने देश तथा बिदेशमा रहनुभएका समस्त नेपालीजनमा हार्दिक आभार व्यक्त गर्दछु । जिल्ला अदालतको आदेशले कारागार चलान गर्दा पनी म अदालतको आदेशलाई शिरोपर गर्दै खुशी साथ नै कारागार गएको थिएँ, आज उच्च अदालतको आदेशबाट रिहाई हुँदा पनी देश निर्माणको भावी योजनाका साथ म घर फर्किदै छु । न्याय मरेको छैन भन्ने आभाष दिलाउनुहुने समस्त श्रीमान सहित अदालत परिवारमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु । मेरा लागी सारा नेपाल मेरो घर हो,कारागार पनी मलाई घर भन्दा फरक लागेन । कारागारमा रहँदा साथ दिने कारागार व्यवस्थापन परिवार, नेपाल प्रहरी, कारागारमा रहनुभएका सबै साथीहरुमा समेत हार्दिक कृतज्ञता र धन्यवाद व्यक्त गर्दछु ।’
म मेरो लागी हैन देशकै लागी थिएँ, छु र रहिरहनेछु । तरिका र शैली बदलिएला तर नागरिक र देशका लागी मन बचन र कर्मले लाग्ने मेरो स्वभाव परिवर्तन हुनेछैन । फेरीपनी हृदयको अन्तस्करण बाट सबैमा धेरै आभार । धन्यवाद !
सोमबार प्रसाईलाई पाटन उच्च अदालतले राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा २८ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
FACEBOOK COMMENTS