काठमाडौं । ‘फेक डकुमेन्ट’को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध दुष्प्रचार गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि आज अदालत पेस गरिँदै छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गर्न लागेको हो ।
सीआईबीको टोलीले प्रसाईंलाई हिजो भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।
मेडिकल परीक्षण र आवश्यक प्रमाण जुटाउने क्रममा मंगलबार समय लागेकाले उनलाई आज अदालतमा पेस गर्न लागिएको हो ।
सीआईबीले प्रसाईंलाई पक्राउपछि नेपाल प्रहरीको साइबर ब्युरो भोटाहिटीमा राखेको छ ।
प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियाको टेलिकममा ३३ अर्ब लगानी रहेको दाबी गर्दै झुटा दस्तावेज सार्वजनिक गरेका थिए ।
प्रसाईं यसअघि एक महिलाको चरित्र हत्या गरेको आरोपमा साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेर छुटेका थिए ।
FACEBOOK COMMENTS