काठमाडौं । भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीहरूलाई धम्क्याएको आरोपमा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध मुद्दा दर्ता भएको छ ।
प्रसाईंसहित तीन जनाविरूद्ध संगठित रूपमा आपराधिक लाभ लिएको आरोपमा मुद्दा दर्ता भएको हो ।
बुधबार दिउँसो सरकारी वकिलको कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् ।
साधारण तारेखमा रहेका दुर्गा प्रसाईं र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा रहेका हरिचन्द्र फुयाललाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो ।
अर्का प्रतिवादी तेह्रथुम घर भई झापाको विर्तामोड बस्ने ४२ वर्षीय रामचन्द्र मैनालीविरूद्ध पनि मुद्दा दर्ता भएको छ । उनीविरूद्ध फरार प्रतिवादीका रूपमा मुद्दा दर्ता गरिएको हो ।
प्रसाईंले हरिचन्द्र र रामचन्द्रलाई परिचालन गरी भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा व्यवसायीहरूलाई रकम असुलीका लागि धम्क्याएको आरोप छ ।
उनीहरूविरूद्ध सरकारी वकिलको कार्यालयले आपराधिक लाभ लिन नहुने कसुर गरेको भन्दै सात वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्मको जरिवाना मागदाबी गरेको छ । त्यस्तै संगठिततर्फबाट थप ५० प्रतिशत सजाय माग गरी मुद्दा दर्ता भएको छ ।
FACEBOOK COMMENTS