काठमाडौं । हिजो (शुक्रबार) काठमाडौंको तीनकुनेमा भएको राजसंस्था पक्षधरहरूको आन्दोलनका नेतृत्वकर्ता दुर्गा प्रसाईं सोही दिनदेखि फरार छन् । सरकारले आन्दोलनमा भएको क्षतिको जिम्मेवार ठहराएका प्रसाईंलाई प्रहरीले हिजै पक्राउ गर्ने तयारी गरेकोमा उनी अहिलेसम्म सम्पर्कविहीन छन् । प्रहरीले उनको खोजी तीव्र पारेको छ ।
प्रसाईंको खोजीमा प्रहरीका तीन युनिट खटिएका छन् । प्रहरी प्रधान कार्यालयसहित उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला पहरी परिसर काठमाडौंको टोलीले उनको खोजी गरिरहेका हुन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार उनी मोबाइलको स्विच अफ छ । उनको अन्तिम लोकेशन गैह्रीगाउँ देखिएको थियो । प्रहरीले ‘सर्च अपरेशन’ का क्रममा उनको भक्तपुरस्थित घरमा पनि निगरानी गरेको थियो ।
प्रसाईं हिजो भएको आन्दोलनले उग्ररूप लिएपछि निषेधित क्षेत्रमा प्रवेश नदिन तैनाथ सुरक्षाकर्मीको अगाडिबाटै बलजफ्ती गाडी हुँकाउँदै प्रदर्शनस्थलबाट बाहिरिएका थिए । प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि सामाजिक सञ्जालमार्फत आफूलाई पक्राउ गर्न प्रहरी कहीँ आउनु नपर्ने र आफू जहाँ भन्यो त्यहीँ उपस्थित हुने प्रसाईंले बताएका थिए ।
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा, राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालसहित पाँच जनलाई भने प्रहरीले हिजै राति पक्राउ गरेको थियो ।
सो आन्दोलनले उग्ररूप लिँदा दुई जनाको ज्यान गएको छ भने केही घाइते भएका छन् । यस्तै, आगजनी, तोडफोड र लुटपाटसम्मका घटना भएका छन् ।
FACEBOOK COMMENTS