झापा । एक्सेल डेभलपमेण्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत फोहोर व्यवस्थापनमा सहयोग पु¥याउन डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
यस कार्यक्रम अन्तर्गत अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजार भित्रका विभिन्न स्थानहरूमा १० थान डस्टबिन वितरण गरिएको छ ।
कार्यक्रममा अतिथिका रुपमा इलाम–झापा मैत्री समाजका अध्यक्ष पर्शुराम खरेल, अर्जुनधारा न.पा. वार्ड नं. ८ का वडाध्यक्ष कुमार प्रसाद उप्रेती साथै वडा न. ७ का वडाअध्यक्ष गोविन्द प्रसाद खतिवडा लगायतले बैंकको यस पहललाई धन्यवाद दिदैँ बजारको सफाई र फोहोर व्यवस्थापनमा यस प्रकारको योगदान अत्यन्तै सराहनीय भएको साथै उनीहरुले यस बैंकसँग थप सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
त्यसै गरी, एक्सेल डेभलपमेण्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले स्थानीय बैंक भएकोले स्थानीयको सहयोग अपरिहार्य रहेको र यस बैंकले पनि सामाजिक उत्तरदायित्वलाई बहन गरिहेको कुरा बताए भने बैंकका बजार व्यवस्थापन विभागका अधिकृत गजेन्द्र ढकालले यस कार्यक्रमको महत्वबारे प्रकाश पार्दै सफा र हरियाली शहर निर्माण सबैको सामूहिक जिम्मेवारी रहेको हुनाले यस डस्टबिन वितरण कार्यक्रम मार्फत बैंकले समुदायलाई फोहोर व्यवस्थापनमा सजिलो पार्न मद्दत पुर्याउने उद्देश्य राखेको बताए ।
यस कार्यक्रममा शनिश्चरे शाखाका शाखा इन्जार्च शर्मिला अधिकारी, बैंकका कर्मचारी, स्थानीय बासिन्दा तथा समाजसेवीहरूको समेत सक्रिय सहभागिता रहेको थियो । डस्टबिन वितरण कार्यक्रमसँगै बैंकले अन्य थुप्रै सामाजिक उत्तरदायित्व कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ । बैंकले शिक्षा, स्वास्थ्य, तथा वातावरण संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।
एक्सेल डेभलपमेन्ट बैंक देशकै पहिलो र हालसम्म एकमात्र प्रादेशिक विकास बैंकको रुपमा सेवा विस्तार गरिरहेको छ । हाल यसले कोशी प्रदेशका विभिन्न जिल्लाहरु अन्तर्गत ४७ वटा शाखाहरु ३ वटा एटीएमबाट सेवा दिइरहेको छ । त्यसका साथै आकर्षक प्रिमियमका साथ न्यून ब्याजदरमा यस बैंकबाट सबै किसिमका कर्जाहरु प्रवाह भइरहेको छ ।
FACEBOOK COMMENTS