काठमाडौं । सडक व्यवसाय र अनौपचारिक क्षेत्र व्यवस्थापनका लागि दबाब दिन लुम्बिनी–सिंहदरबार पैदलयात्रा गरेका सामाजिक अभियन्ता ई: सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ ।
लुम्बिनी–सिंहदरबार पैदलयात्राको १० औं दिन ई:, सौरभ न्यौपाने (चाउ), युजनराज भण्डारी, रक्षा बम, सुजन गिरी लगायतको टोलीले प्रधानमन्त्री निवास पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।
बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ई:ले पाँच पृष्ठको मागपत्र सुनाएका थिए । त्यसमा सडक व्यापारको वस्तुगत अवस्था, तहगत सरकारको संवैधानिक, कानुनी र नीतिगत वाचा, सरकारले लिनुपर्ने ठोस पहलबारे आफूहरुको माग, तत्कालीन, दिगो समाधानका विषय लगायत उल्लेख गरिएको थियो ।
अभियन्ता ई: ले २८ माघमा लुम्बिनीबाट पैदलयात्रा थालेका थिए । यसअघि उनले सडक व्यवसायीबारे चुनाव अघि गरेको वाचा पूरा गरिदिन भन्दै काठमाडौं र ललितपुर महानगर अगाडि पनि उभिएर विरोध प्रदर्शन गरेका थिए ।
FACEBOOK COMMENTS