कर्णाली । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले भूकम्पपीडितलाई एक सातामा ६० प्रतिशत राहत वितरण गरिएको बताएका छन् ।
भूकम्पमा परेकाको उद्धारसँगै जाजरकोट र रुकुमपश्चिमका ६० प्रतिशत भूकम्पपीडितलाई हवाई तथा स्थलगत दुवै मार्ग प्रयोग गरेर राहत वितरण गरिएको उनले बताए । उनका अनुसार भोलिसम्म सबै पीडितले राहत प्राप्त गर्नेछन् ।
“भग्नावशेषमा परिणत भएका घरका पीडितलाई त अनिवार्य राहत वितरण गर्नु नै पर्नेभयो,” मन्त्री जिसीले भने, “कच्ची घर भएका तर भूकम्पको त्रासले बाहिर बसेकालाई पनि त्रिपाल, लत्ताकपडा, भाडावर्तनलगायत बन्दोबस्तीका सामग्री सहयोग गर्नुपर्ने भएकाले राहतको परिमाण बढाउनुपर्ने भएको छ ।”
त्यसका साथै भूकम्प प्रभावित स्थानीय तहमार्फत राहतका काम गर्नेगरी प्रदेश सरकारद्वारा दुई करोड ४५ लाख वित्तिय हस्तान्तरण गरिएको बताउँदै मन्त्री जिसीले विपद् व्यवस्थापन कोषमा कोशी प्रदेशबाट एक करोड र एनसेलबाट ५० लाख जम्मा भएको जनाकारी दिए ।
FACEBOOK COMMENTS