तिब्बत केन्द्रविन्दु बनाएर बिहान गएको भूकम्पबाट कोशी प्रदेशका हिमाली जिल्लामा प्रभाव परेको छ । अहिलेसम्म ६ वटा घर भत्किएको जानकारी प्रहरीले जनाएकाे छ ।ओखलढुंगामा एक घर पूर्णरूपले क्षति पुगेको छ ।
प्रहरीका अनुसार ओखलढुंगाकै सिद्धीचरण नगरपालिका चुहान छापका हिमाल कार्कीको घरमा आंशिक क्षति पुगेको छ । सोलुखुम्बुको थुलुंङ दूधकोशीमा हर्कबहादुर खत्रीको घरमा क्षति पुगेको छ । यस्तै सोलुकै खुम्बु पासाङ्गल्यामु गाँउपालिकामा ङिमा शेर्पाको घर भत्किएको छ ।
संखुवासभाको भोटखोलामा तेन्जिङ्ग शेर्पाको घर पनि भूकम्पले भत्काएको छ । प्रहरीले क्षति पुगेका स्थानमा खोज र उद्धारको काम शुरू गरेको छ । क्षतिको अन्य विवरण संकलनको क्रममा रहेको प्रहरीको भनाइ छ ।
सोलुखुम्बुगएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ । थुलुङ दूधकोशी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गामाटोको गारो र ढुङ्गाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । उनका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ । क्षतिबारे यकिन विवरण आउन बाँकी छ । भूकम्पका कारण जिल्लामा भएको क्षतिबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन । सम्भावित उद्धार तथा राहतका लागि प्रहरीसहित सबै संयन्त्र तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।
FACEBOOK COMMENTS