झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ ।
प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आव २०८२–८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी २४ अर्ब २६ करोड ७४ लाख रुपैयाँको कृषिउपज सामग्री नेपाल भित्रिएको हो ।
आयातित कृषि वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको रहेको उनले बताए । भारतबाट २४ करोड २३ लाख १३ हजार रुपैयाँको चामल र कोदो १८ करोड ८३ लाख रुपैयाँको आयात भएको छ ।
यस्तै, अष्ट्रेलिया र भारतबाट १८ करोड २७ लाख ९९ हजार रुपैयाँको एक हजार ९९६ मेट्रिकटन चना, १० करोड ८८ लाख ५४ हजार रुपैयाँ बराबरको अष्ट्रेलियाबाट ७९६ मेट्रिकटन मासको दाल भित्रिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
यसैगरी, ताजा तरकारीतर्फ भारतबाट उल्लेख्यमात्रामा गोलभेडा, काँक्रा, भेडे खुर्सानी, र फर्सी आयात भएको छ ।
एक वर्षको अवधिमा १४ करोड ३९ लाख ६६ हजार रुपैयाँको गालेभेडा, सात करोड ९० लाख ६४ हजार रुपैयाँको काँक्रा र खुर्सानी तीन करोड २४ लाख ३५ हजारको आयात भएको तथ्यांक छ ।

फलफूलतर्फ भारत र चीनबाट स्याउ, भुइँकटर, तरबुजा र नासपाती मुख्य रूपमा भित्रिएका छन् । भारत र चीनबाट २९ करोड ५९ लाख ७२ हजार रुपैयाँको स्याउ र भारतबाट तरबुजा १४ करोड २४ लाख ८१ हजार रुपैयाँको आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालयले जनाएको छ ।