इलाम । सूर्योदयको जिल्ला इलाममा आयोजना गरिएको दुई दिने अन्तरदेशीय इलाम पर्यटनमैत्री साहित्य सम्मेलन आठ बुदे घोषणापत्रसहित सकिएको छ ।
साहित्यिक पत्रकार संघ, काठमाडौ र इलाम नगरपालिका साहित्य, कला, सङ्गीत प्रतिष्ठान र इलाम नगर पर्यटन प्रवर्द्धन समितिले संयुक्त रूपमा आयोजना गरेको सो सम्मेलनमा इलाम बाहिरबाटमात्र एकसय बढी साहित्यकारहरु इलाम पुगेका थिए । सो सम्मेलनमा नेपालबाट काठमाडौं, चितवन, मकवानपुर, सिन्धुली, नेपालगन्ज, इलाम, झापा, पाचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, पोखरालगायत भारतको दार्जीलिङ्ग, सिलगढी, कालेम्पोङ्ग, सिक्किम, गुवाहाटी, मणिपुर, कोलकातालगायत क्यानमेरा, अस्ट्रेलिया, अमेरिकाबाट गरी एकसय बढी साहित्यकारहरुले सो सम्मेलनमा भाग लिएका हुन ।
यस सम्मेलनले नेपाल र भारतको नेपाली साहित्यिक सम्बन्धलाई अझ बलियो बनाएको र इलामको पर्यटनको प्रचारमा सहयोग पुग्ने विश्वास आयोजकहरुको रहेको छ। वरिष्ठ साहित्यकार डा. गार्गी शर्माको प्रमुख आतिथ्यमा आयोजना गरिएको सो कार्यक्रमको अध्यक्षता इलाम नगरपालिका साहित्य, कला, सङ्गीत प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेले गरेकी थिइन । सो कार्यक्रममा सम्मेलनका सहअध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा विशेष अतिथिका रूपमा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, नेपाली साहित्य सम्मेलन दार्जीलिङ्गका पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार प्रेम प्रधान, भारतीय नेपाली नारी साहित्य मन्चकी अध्यक्ष वरिष्ठ आख्यानकार विन्द्या सुब्बा (दार्जीलिङ्ग), नेपाली साहित्य सम्मेलन दार्जीलिङ्गका पूर्व अध्यक्ष गाेपीचन्द्र प्रधान, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, गुन्जनकी निवर्तमान अध्यक्ष वरिष्ठ आख्यानकार एवं साहित्यिक पत्रकार हिरण्यकुमारी पाठक (काठमाडौं), प्रा. युद्धप्रसाद वैद्य, वरिष्ठ नाटककार प्राज्ञ अशेष मल्ल, वरिष्ठ साहित्यकार मुक्ति बराल (सिलगढी), वरिष्ठ साहित्यकार गायत्री श्रेष्ठ (चितवन) आदि रहनु भएको थियो ।
कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, नेपाली साहित्य सम्मेलन दार्जीलिङ्गका पूर्व अध्यक्ष एवं नेपाली भाषा परामर्श समिति, दिल्लीका पूर्व संयाेजक वरिष्ठ साहित्यकार प्रेम प्रधान, प्राज्ञ नन्दु उप्रेती, प्रा. युद्दप्रसाद बैद्य, इलामका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए । यसअगि सम्मेलनका प्रमुख अतिथि डा. गार्गी शर्मा र इलाम नगरप्रमुख महेश बस्नेतले पानसमा दीप प्रज्वलन गरेर सम्मेलनको उदघाटन गरेका थिए भने प्रसिद्द गायक नारायण गोपालको तस्वीरमा फूलमाला चढाएका थिए । यसैगरी इलाम नगर पर्यटन प्रवर्द्धन समितिका संयोजक प्रकाश अधिकारीले सम्मेलनका अतिथिहरुलाई स्वागत गरेका थिए । सोही सम्मेलनमा गुवाहाटी, भारतकी चर्चित नृत्याङ्गना कृष्णा छेत्रीले उडिसाको प्रसिद्द ओडिसी नृत्य प्रस्तुत गरेकी थिइन । उनले ओडिसी नृत्यको मंगलचरण पन्च देवी प्रस्तुत गरिन । वरिष्ठ कवि,आख्यानकार एवं समीक्षक प्रेम प्रधानको प्रमुख आतिथ्यमा विभिन्न स्थानबाट भेला भएका साहित्यकारहरुले कविता, गीत, गजल वाचन गरेका थिए ।
जसको संचालन कवि विमल वैद्यले गरेका थिए । साथै सम्मेलनमा इलामका पर्यटकीयस्थलहरुको प्रदर्शनी पनि गरिएको थियो । इलामका साहित्यकार एवं संचारकर्मी दिवाकर भण्डारीले संचालन गरेको सो सम्मेनलनमा बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष वरिष्ठ समालोचक प्रमोद प्रधानले “पर्यटन प्रवर्द्धनमा साहित्यको भूमिका” कार्यपत्र प्रस्तुत गरेका थिए भने प्रा. डा सावित्री कक्षपति मल्लले सो कार्यपत्रमाथि टिप्पणी गरेकी थिइन । यसैगरी वरिष्ठ नियात्राकार युवराज नयाघरेले “यात्रा: भाव, भाका र भाषा” शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रमाथि वरिष्ठ नियात्राकार एवं साहित्यिक पत्रकार रामप्रसाद पन्तले टिप्पणी गरेका थिए ।
यसैगरी साहित्यकार डा. देवी क्षेत्री दुलालले “पर्यटनको विकासमा साहित्यको भूमिका” शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रमाथि निकै लामो टिप्पणी साहित्यकार चन्द्र भण्डारीले गरेका थिए । त्यस अवसरमा इलामको पर्यटकीय क्षेत्रबारे सञ्जीव पौडेलले अवधारणापत्र प्रस्तुत गरे । कार्यक्रमको समापनको अवसरमा प्रसिद्द गायक नारायण गोपालको स्मृति दिवस साझको आयोजना गरिएको थियो । सम्मेलनमा इलामका गायक नन्दकुमार श्रेष्ठ र चित्रकार प्रेम केसीलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । समापन कार्यक्रम कै अवसरमा आठ बुदे इलाम घोषणापत्र जारी गरिएको थियो । कार्यक्रममा पुस्तक प्रदर्शनी र साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । कार्यक्रमको दोस्रो दिन स्थानीय पर्यटनस्थलहरुको भ्रमण, माईपोखरीमा नेपाल र भारतका विभिन्न कविहरुबाट काव्य वाचन, साहित्यकार अशेष मल्लबाट कविताबारे चर्चा, गायक कमला रिसालबाट गीत र चर्या नृत्यका लागि प्रसिद्द नाम मेनका लामाबाट बन्दना नृत्य सम्पन्न भएको थियो । सोही दिन साझमा इलाम चियाबारी होमस्टेमा स्रष्टा क्याम्फायर सम्पन्न भएको थितो । यसैगरी तेस्रो र चौथो दिन कन्याम र श्रीअन्तुको भ्रमण सम्पन्न भएको थियो ।
FACEBOOK COMMENTS