काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले शनिवार काठमाडौंमा ‘राष्ट्रिय वृहत् आर्थिक बहस २.०’ कार्यक्रम आयोजना गर्ने भएको छ ।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीसहित अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओम प्रकाश अर्याल र उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाको सहभागिता रहने महासङ्घले जनाएको छ ।
यस्तै, कार्यक्रममा मुख्यसचिव, नेपाल राष्ट्र बैङ्कका गर्भनर, विभिन्न मन्त्रालयका सचिवहरू, नेपालस्थित विभिन्न देशका राजदूतहरू, विकास साझेदार र नियोगका प्रमुख एवम् प्रतिनिधिहरू तथा निजी क्षेत्रका संस्थाहरूका प्रमुख तथा पदाधिकारीहरूको सहभागिता रहने छ ।
जेन जी आन्दोलन र त्यसपछि देशको समग्र आर्थिक परिस्थति र आगामी कार्यदिशाका बारेमा साझा धारणा तय गर्न ‘राष्ट्रिय वृहत् आर्थिक बहस’ आयोजना गरिएको महासङ्घले जनाएको छ ।
उद्योग वाणिज्य महासङ्घले यसअघि पनि २०८० सालमा राष्ट्रिय वृहत् आर्थिक बहसको पहिलो शृङ्खला आयोजना गरेको थियो ।

FACEBOOK COMMENTS