काठमाडौं । चालु आर्थिक वर्ष २०८१-८२ को प्रथम त्रैमास (साउन–असोज) मा आर्थिक वृद्धिदर ३.४ प्रतिशत भएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले चालु आव पहिलो त्रैमासको कुल गार्हस्थ उत्पादन (जीडीपी) को प्रारम्भिक अनुमान सार्वजनिक गर्दै यस्तो जनाएको हो । गत आव २०८०-८१ को पहिलो तीन महिनाको तुलनामा चालु आवको पहिलो तीन महिनामा आर्थिक वृद्धिदर ३.४ प्रतिशतले विस्तार भएको छ ।
यो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि, विद्युत उत्पादन तथा वितरणमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मुल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेका छन् ।
यसका अतिरिक्त यातायात क्षेत्रमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धि तर्फ उन्मुख रहेको हो। खासगरी यस अवधिमा गएको बाढी तथा पहिरोको नकारात्मक प्रभाव र निर्माण क्षेत्रको वृद्धि धनात्मक हुन नसकेका कारणले अर्थतन्त्रको वृद्धि सामान्य रहन गएको अनुमान रहेको छ।
कुल गार्हस्थ उत्पादन आधारभूत मुल्यमा चालु आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो त्रैमासिकमा ०.२ प्रतिशतले मात्र वृद्धि हुने प्रारम्भिक अनुमान छ।
गत आवको चौथो त्रैमासिकको तुलनामा चालु आवको प्रथम त्रैमासिकमा कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये छ ओटामा भएको ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिको कारणले समग्र कुल गार्हस्थ्य उत्पादन झिनो अङ्कले मात्र वृद्धि हुने अनुमान गरिएको हो। यद्यपी, विद्युत र सूचना तथा सञ्चार क्षेत्रमा भने उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ।
FACEBOOK COMMENTS