काठमाडौँ । विज्ञहरूले देश समृद्ध बनाउन मानव पुँजी विकासमा सुधार आवश्यक रहेको बताएका छन् । आज यहाँ ‘फ्रेन्डस अन द क्लाउड : प्लेटफर्म अफ इन्फ्लुएन्सर्स नेपाल’ ले आयोजना गरेको ‘नेपाल चाइना पार्टनरसीप: एडभान्सिङ नेपालस् फिनान्सियल ग्रोथ’ कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले आईटी, पूर्वाधार, शैक्षिक विकासमा जोड दिनुपर्ने र आवश्यकताअनुसार छिमेकी देश चीनसँग सहकार्य र साझेदारी गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा सुदनकुमार वलीले देश विकासका लागि आगामी लक्ष्य के हो भन्ने निर्धारण गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे । उनले भने ‘देश समृद्धितर्फ लिन मानव पुँजी विकासमा सुधार आवश्यक छ । शिक्षा र स्वास्थ्य क्षेत्रको जनशक्ति विकासमा ध्यान दिनुपर्छ । पर्यटनमा लगानी र आतिथ्य व्यवस्थापनमा ध्यान दिनुपर्छ । कृषि, यातायातमा चीन निकै अगाडि छ त्यसमा सहकार्य गर्न सकिन्छ ।’
प्रा डा केशव बस्यालले शिक्षा क्षेत्रको विकास र लगानीबारे सोच्नुपर्ने बेला आएको बताए । उनले अब बन्ने नीति तथा कार्यक्रम प्रमाण तथा तथ्यका आधारमा बन्नुपर्नेमा जोड दिए । ‘पुरानै उद्देश्यले अब काम चल्दैन । दीर्घकालीन रूपमा कसरी काम गर्नुपर्छ भन्नेमा हामी गएनौँ । चीनले प्राइभेट क्षेत्रसँग सहकार्य गरेर अगाडि बढिरहेकामा रोजगारी सिर्जनामा नेपालले पनि त्यो मोडल अपनाउनुपर्छ,’ बस्यालको भनाइ थियो ।
पूर्वाधारविज्ञ लालकृष्ण केसीले पूर्वाधार समग्र देश विकाससँग जोडिएकाले यसमा प्रतिफल दिने गरी लगानी गर्नुपर्ने बताए । उनले पूर्वाधार विकास नभइ आर्थिक विकास र त्यो नभए सामाजिक विकास नहुने धारणा राखे ।
आईटीविज्ञ वसन्त वनले प्रविधिको गतिअनुसार काम गर्न नसके विकासको गति पछि पर्ने तर्क गरे । उनले भने, ‘आईटी क्षेत्रलाई विकासको मेरुदण्ड मानेर अघि बढ्नुपर्छ । यसले आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउँछ । हामीसँग अवसर र चुनौती दुवै छन् । हाम्रा कमजोरी र सामथ्र्य के हुन् त त्यसलाई केलाएर अघि बढ्नुपर्छ । आवश्यकताअनुसार साझेदारी गर्न सकिन्छ ।’
आयोजक संस्थाका अध्यक्ष शोभित उप्रेतीले विभिन्न क्षेत्रमा नेपाल र चीनसँगको सहकार्यले आर्थिक समृद्धिमा सहयोग पुग्ने बताए । उनले हामीहरूसँग स्रोत भए पनि तिनको प्रयोग गर्न नजान्दा समस्या भएको धारणा राख्दै अब सीमित स्रोतसाधन उपयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
FACEBOOK COMMENTS