काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकासका लैंगिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवद्र्धन आवश्यक भएको बताएका छन् ।
काठमाडौंमा आयोजित ‘लैंगिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवद्र्धन’ विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्र रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन र स्थानीय जीविकोपार्जनमा महत्त्वपूर्ण आधार रहँदै आएको बताए ।
यससँगै, उनले होमस्टे तथा समुदायमा आधारित पर्यटनका माध्यमबाट महिला उद्यमशीलता प्रर्वद्र्धन भइरहेको बताए । “पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार हो । देशको आर्थिक विकासमा आन्तरिक तथा बाह्य दुवै पर्यटनको उत्तिकै योगदान रहेको छ । यद्यपि, पछिल्लो समय आन्तरिक पर्यटन फस्टाउँदो अवस्थामा छ । यसले रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र चयायमान बनाउन ठूलो सहयोग गरेको छ,” उनले भने ।
पर्यटन क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दै गएको र यसले महिलाहरूलाई आत्मनिर्भर बन्न सघाउ पुर्याएको चर्चा गरे । अध्यक्ष ढकालले उद्योग वाणिज्य महासंघले महिलाहरूको उद्यमशीलताको विकास तथा नेतृत्व विकासमा थुप्रै नीतिगत सुधार गरेको जानकारी दिए ।
FACEBOOK COMMENTS