वीरगञ्ज । कोरोना महामारीबाट थलिएको आर्थिक गतिविधि विस्तारै लयमा फर्किन थालेको छ । आयातनिर्यात परिमाणका आधारमा देशकै मुख्य भन्सार वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८–७९ को वैदेशिक व्यापारको आँकडाले यस्तो संकेत गरेको हो ।
वीरगञ्ज भन्सारबाट हुँदै आएको आयातनिर्यात चालू आवको पहिलो चौमासिक अवधिमा ९२ प्रतिशतले बढेको छ । यो परिमाण गतवर्ष २०७७–७८ को समीक्षा अवधिको तुलनामा उल्लेख्य बढी भएको वीरगञ्ज भन्सारले जानकारी दिएको छ । वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार चालू आवको साउनदेखि कात्तिकसम्ममा यो नाकाबाट कुल २ खर्ब ६४ अर्ब २७ करोड रुपैयाँबराबरको आयात निर्यात भएको छ ।
यो परिमाण गत आवको सोही अवधिमा १ खर्ब ३७ अर्ब ६० करोड रुपैयाँबराबर थियो । गत आव पहिलो २ महीना कोरोना महामहारी नियन्त्रणका लागि बन्दाबन्दी र निषेधाज्ञा रहेको र त्यसपछि बजार खुले पनि अन्योलले बजारले गति लिन सकेको थिएन । त्यसको प्रभाव वैदेशिक व्यापारको परिमाणमा परेको भन्सारका अधिकारीहरू बताउँछन् ।
२०७६ चैत ११ बाट लगाइएको बन्दाबन्दी र निषेधाज्ञा २०७७ भदौ अन्तिमसम्म जारी थियो । असोजदेखि निषेधाज्ञा हटाइए पनि दैनिकी सामान्य बन्न समय लागेको थियो । बन्दाबन्दी र निषेधाज्ञाको प्रतिकूल प्रभाव आन्तरिक उत्पादन र बजारमा पर्दा वैदेशिक व्यापार घटेको हो । चालू आवको कात्तिकसम्ममा वीरगञ्ज नाकाबाट २ खर्ब २४ अर्ब ७१ करोड रुपैयाँबराबरको विदेशी मालसामान भित्रिएको छ । यो अवधिमा ३९ अर्ब ५६ करोड रुपैयाँबराबरको स्वदेशी उत्पादन निर्यात भएको आजका आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS