गएको भदौ २३ गते देखिएको जेन जी आन्दोलन र २४ गते भएको विध्वंश केवल एक पुस्ताको असन्तुष्टि मात्र रहेन, क्रमश: उद्योग, व्यवसाय र व्यापारमाथि लक्षित हिंसात्मक आक्रमणमा रूपान्तरण भयो ।
अरबौँ लगानीका हिलटन होटेल, भाटभटेनी सुपर मार्केट, दूरसञ्चारप्रदायक एनसेललगायत दर्जनौँ उद्योग प्रतिष्ठानहरूमा आगजनी, तोडफोड र लुटपाटका घटनाले अरबौँ रूपैयाँ बराबरको भौतिक क्षति मात्र गरेन, देशको लगानी वातावरण, रोजगारीको भरोसा र आर्थिक स्थायित्वमा गहिरो चोट पुर्याएको छ ।
राज्यको प्रचलित कानुनअनुसार दर्ता भएर, कर तिरेर, रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याइरहेका उद्योग–व्यवसाय किन आन्दोलनकारीको सहज निशाना बने ? के यो आक्रोश केवल आवेग मात्रै हो कि यसका पछाडि राजनीतिक, सामाजिक र आर्थिक संरचनागत कारणहरू पनि छन् ? भदौ २३ र २४ गतेको घटनाले यस्ता थुप्रै अमूर्त प्रश्नहरू जबरजस्त ढङ्गले उठाएको छ ।
राजनीतिक रूपमा हेर्दा, लामो समयदेखि देखिएको अस्थिरता, जवाफदेहिताको अभाव र नीति कार्यान्वयनको कमजोरीले युवा पुस्तामा गहिरो निराशा जन्माएको छ । रोजगारीका सीमित अवसर, शिक्षा र श्रम बजारबीचको असन्तुलन र भविष्यप्रतिको अनिश्चितताले आक्रोशलाई मलजल गरेको देखिन्छ । सामाजिक तहमा, असमानता र वर्गीय दूरी झन् बढ्दै गएको र ती विषयलाई सामाजिक सञ्जालहरूले प्राय: नकारात्मक कोणबाट प्रस्तुत गरिदिँदा विद्यमान आर्थिक–राजनीतिक प्रणालीका लाभ लिने तप्का आजका सफल उद्योगी–व्यवसायीहरू मात्रै हुन् भन्ने कोणबाट चित्रित गर्ने प्रवृत्ति बढेको छ ।
यसले व्यक्तिगत सङ्घर्ष र सामुहिक प्रणालीबीचको भिन्नतालाई पूर्णत: ओझेलमा पारेको छ । आर्थिक दृष्टिले हेर्दा महङ्गी, आयको स्थिरता र अवसरको कमीले युवा पुस्तालाई निराश बनाएको यथार्थ अस्वीकार गर्न सकिँदैन । तर, उक्त निराशा उद्योग र व्यवसायमाथि हिंसात्मक रूपमा पोखिनु समाधान होइन, यो त समस्या झन् गहिरो बनाउने बाटो हो ।

आजका उद्योगी–व्यवसायीहरू रातारात अर्बपति बनेका होइनन् । उनीहरूको अहिले देखिएको सफलतामा अरबौँको लगानी, दशकौँको समय, असफलताका कयौँ कथाहरू, जोखिम र निरन्तर सङ्घर्षका गाथाहरू लुकेको छ । धेरैले बैंक ऋणको दबाब, बजारको उतारचढाव, नीतिगत अनिश्चितता र प्राकृतिक तथा राजनीतिक सङ्कटहरूसँग पौँठेजोरी खेल्दै उद्योग स्थापना गरेका छन् ।

यिनै उद्योगहरूले हजारौँलाई रोजगारी दिएका छन्, करमार्फत राज्यको ढुकुटी भरेका छन् र देशभित्रै उत्पादन तथा सेवा विस्तार गरेर आयात प्रतिस्थापनमा उल्लेखनीय योगदान दिँदै आएका छन् । तर, ती अधिकांश उद्योग–प्रतिष्ठानहरू अहिले जलाएर खरानी पारिएको छ । क्षणिकको आक्रोशले उद्योग–प्रतिष्ठानहरू खरानी पारिँदा केवल एक व्यवसायीको सम्पत्ति मात्र नष्ट भएको छै त्यहाँ कार्यरतहरूको रोजगारी, आपूर्ति श्रृङ्खला, बैंकको लगानी र राष्ट्रिय अर्थतन्त्रमा नै गम्भीर प्रभाव पारेको छ ।

संघर्षका कथा सुनिनु र सुनाइनु आवश्यक

उद्योगी–व्यवसायीका सङ्घर्षका कथा केवल व्यक्तिगत सफलताको आत्मकथा मात्र होइनन्, ती राष्ट्रको आर्थिक इतिहासका जीवित दस्तावेज हुन् । तर, हाम्रो सार्वजनिक विमर्शमा यी कथाहरू प्राय: ‘पुँजीको प्रदर्शन’ भनेर बुझिन्छन्, ‘परिश्रमको परिणाम’ भनेर होइन । यही गलत बुझाइले उद्योग र युवापुस्ताबीच दूरी बढाएको तथ्य भदौ २३ र २४ ले स्पष्ट गरेको अनुभूति हुन्छ ।

आज समाजले देखिरहेको समृद्धि, ठूला भवन, आधुनिक कारखाना, ब्रान्ड बनेका व्यवसायहरूका पछाडि अनगिन्ती असफलता, ऋणको चाप, दिन–रातको चिन्ता र जोखिमका थुप्रै निर्णयहरू लुकेका छन् । नीतिगत अस्थिरताका कारण लगानी डुब्ने जोखिम, बन्द–हडतालको लामो श्रृङ्खला, नाकाबन्दी, भूकम्प, कोभिड–१९ जस्ता महामारीहरूले व्यवसायलाई शून्यमा झारेको अनुभव उनीहरूकै जीवनको हिस्सा हो । यी यथार्थ बाहिर नआएसम्म उद्योगीहरू केवल ‘विशेषाधिकार प्राप्त गर्ने वर्ग’ को रूपमा मात्रै चित्रित भइरहन्छन् र सधैं निशानामा परिरहने खतरा सृजना हुन्छ ।
त्यसकारण अब आम उद्योग–व्यवसाय र उद्योगीहरूको सङ्घर्षका कथाहरू नयाँ पुस्तालाई सुनाउने बेला भएको छ । जब युवा पुस्ताले आजको सफल उद्योग कुनै राजनीतिक पहुँच वा प्रणालीको दया मात्र होइन, दशकौँको निरन्तर परिश्रम र जोखिमको परिणाम हो भन्ने कुरा बुझ्दछन् तब घृणाको ठाउँमा जिज्ञासा र सम्मान जन्मिन्छ, हिंसात्मक असन्तुष्टि भन्दा सिर्जनात्मक आकाङ्क्षा पलाउन थाल्छ र अहिलेको आक्रोशको दिशा नै बदलिदिन सक्छ ।
ती कथाहरू आशाको स्रोत पनि हुनेछन् । रोजगारीको अभाव र भविष्यप्रतिको अनिश्चितताले थलिएका युवाका लागि सङ्घर्षका यथार्थ कथाले ‘यहाँ सम्भव छैन’ भन्ने मानसिकतालाई तोड्छ । सफलताको बाटो सजिलो छैन, तर असम्भव पनि छैन भन्ने सन्देश दिन्छ । यसले युवालाई आन्दोलनको भिड भन्दा उद्यमशीलताको यात्रातर्फ डोर्याउन मद्दत पुर्याउँछ ।
सङ्घर्षका कथा सुनिनु उद्योगको मानवीकरण हो । उद्योग केवल मेसिन, पुँजी र नाफाको संरचना होइन, त्यो मानिसको सपना, डर, धैर्य र साहसको सङ्गम हो । जब उद्योगलाई मानवीय दृष्टिले बुझिन्छ, तब आगजनी र तोडफोड केवल भौतिक क्षति होइन, मानवीय श्रममाथिको आक्रमण भएको अनुभूति पैदा हुन्छ । जसले राज्य र समाजलाई समेत आत्ममूल्याङ्कन गर्न बाध्य बनाउँछ ।
सङ्घर्षका कथा सुनाइनु संवादको ढोका खोल्नु हो । जहाँ संवाद हुन्छ, त्यहाँ हिंसाको आवश्यकता पर्दैन । जब उद्योगी, युवा र राज्यबीच वास्तविक अनुभवमा आधारित संवाद सुरू हुन्छ, तब असन्तुष्टि विनाशकारी आन्दोलनमा होइन, रचनात्मक परिवर्तनमा रूपान्तरणज्ञ हुन सक्छ ।
उनीहरूको अहिले देखिएको सफलतामा अरबौँको लगानी, दशकौँको समय, असफलताका कयौँ कथाहरू, जोखिम र निरन्तर सङ्घर्ष लुकेको छ ।
यसकारण, आजको आवश्यकता उद्योगी–व्यवसायीलाई ‘निशाना’ बनाउने होइन, उनीहरूको सङ्घर्ष सुन्ने, बुझ्ने र त्यसबाट सिक्ने हो । किनकि जसको सङ्घर्ष बुझिँदैन, उसको अस्तित्व पनि सम्मानित हुँदैन । सम्मानविहीन अर्थतन्त्र कहिल्यै दिगो हुन सक्दैन ।
राज्यको भूमिका
राज्यले आन्दोलनको अधिकार र सम्पत्तिको सुरक्षाबीच सन्तुलन कायम गर्न सक्नुपर्छ । शान्तिपूर्ण असन्तुष्टि लोकतन्त्रको आत्मा हो, तर हिंसा र लुटपाट अराजकता हो । उद्योग–व्यवसायको सुरक्षा सुनिश्चित गर्नु, दोषीलाई कानुनी दायरामा ल्याउनु र युवासँग अर्थपूर्ण संवाद सुरू गर्नु आजको आवश्यकता हो । किनकि यदि आक्रोशलाई समयमै सुन्ने र सम्बोधन गर्ने प्रयास गरिएन भने त्यसको मूल्य सम्पूर्ण समाजले चुकाउनुपर्छ भन्ने स्पष्ट सन्देश भदौ २३ र २४ ले दिइसकेको छ ।
उद्योग–व्यवसाय अर्थतन्त्रका शत्रु नभइ रोजगारी, अवसर र समृद्धिका आधारस्तम्भ हुन् । यसलाई विनाश गरेर होइन, संवाद र निर्माणतर्फ उन्मुख हुनु नै आजको उपयुक्त विकल्प हो । आजकल अरुको कुरा बुझ्न खोज्नु त कता हो कता सुन्ने धैर्यता समेत हामीमा हराइसकेको छ, कम्तिमा कुरा सुन्ने र बुझ्ने प्रयत्न गरियो भने आधा आक्रोश र दु:खीपन यसै हटेर जान्छ, त्यसो हुन सक्यो भने समाजलाई समृद्धिमा लैजान चर्को भाषणवाजीको आवश्यकता पर्दैन ।
हाम्रो बारे…
विशेषगरी मुलुकको उद्योग वाणिज्य क्षेत्रलगायत समग्र अर्थतन्त्रको विषयमा विगत १७ वर्षदेखि निरन्तर रूपमा पृथक शैलीबाट कलम चलाउँदै आएको यस कर्पोरेट बिजनेस म्यागजिन यसै अङ्कदेखि १८औँ वर्षमा प्रवेश गरेको छ । मुलुकको पछिल्लो असहज परिस्थितिकाबीच यो उत्सव हाम्रा लागि खुसीमय बन्न सकेन ।
हाम्रो निरन्तरको यात्रामा प्रत्यक्ष/परोक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण सरोकार पक्षहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै उक्त सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा गरेका छौँ । कर्पोरेट म्यागजिनलाई समय अनुकुल परिस्कृत र थप पृथक बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्दछौँ । (कर्पोरेट म्यागजिनबाट)
FACEBOOK COMMENTS