काठमाडौं । काठमाडौं प्रदर्शनीमार्गस्थित त्रिभुवन विश्वविद्यालयको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा विद्यार्थीको नतिजामा भएको त्रुटीको छानबिन गर्नुपर्ने माग संसद्मा उठेको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्यार्थीको परीक्षामा त्रुटि गर्ने जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्न पनि माग गरेका छन् ।
सांसद सापकोटाले सरकारको ध्यानार्कषण गराउँदै छानबिन गरी दोषी उपर कारबाही हुनुपर्ने बताए । उनले भने, ‘त्रिभुवन विश्वविद्यालय र आरआर क्याम्पसको लापरबाहीले ५ सय भन्दा बढी विद्यार्थीको भविष्यमा प्रश्न चिह्न खडा भएको छ, उनीहरूको जीवनमाथि नै खेलबाड भएको छ । ढिला परीक्षा लिने, ढिला नतिजा निकाल्ने अनि ५ सय विद्यार्थीको नतिजामा अनुपस्थिति उल्लेख गरिएको छ ।’
आन्तरिक परीक्षामा विषय शिक्षकले दिएको अंकसमेत फेरबदल गरिएको विषयमा छानबिन गर्न त्रिभुवन विश्वविद्यालयको समेत ध्यानाकर्षण गराए । सांसद सापकोटाले भने, ‘परीक्षा नियन्त्रण कार्यालयले क्याम्पसलाई, क्याम्पसले परीक्षा नियन्त्रण कार्यालयलाई दोष दिएर उम्कन मिल्दैन।’
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह बीए प्रथम वर्ष ब्याच २०७७ का विद्यार्थीको नतिजा १४ महिना लगाएर सार्वजनिक गरेको थियो । वैशाख १० गते प्रकाशित नतिजामा ५ सय भन्दा विद्यार्थीको नतिजामा अनुपस्थिति जनाइएको छ भने विषय शिक्षकले दिएको अंकमा समेत थपघट गरिएको पाइएको छ । पीडित विद्यार्थी आन्दोलित बनेका छन् । परीक्षा शाखाले गरेको लापरबाहीको क्याम्पस प्रशासनले संरक्षण गर्दै आएको छ । विद्यार्थी क्याम्पसको लापरबाहीले फेल भएपछि समस्यामा परेका छन् ।
FACEBOOK COMMENTS