हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–१ दोजामस्थित चाङला हिमाल आधारभूत विद्यालयलाई भवन अभाव भएको छ । भवन अभाव भएपछि बालबाविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई पढाउन समस्या भएको छ ।
विद्यालयका प्रधानाध्यापक राजु लामाले भने, ‘विद्यालयमा एउटै साँघुरो कोठामा दुई फरक फरक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।’ कक्षा २ र ३ का विद्यार्थीलाई एउटै कोठामा राखेर पठनपाठन गरिँदैआएको बताए । विद्यार्थीले पढाइमा बाधा पुगेको गुनासो गर्ने गरेका उनको भनाइ छ । ‘चार र पाँच कक्षाका विद्यार्थीलाई पनि एउटै कक्षामा राखेर पठनपाठन गर्नुपर्ने बाध्यता छ, ’प्रधानाध्यापक लामाले ’भने ।
विद्यालयसँग ६ कोठामात्रै छन् । एउटामा कार्यालय कक्ष, अर्कोमा बालविकास, एउटामा कक्षा १ का र अर्कोमा कक्षा २, ३ का र बाँकी रहेको एउटा कोठामा चार र पाँच कक्षाका विद्यार्थीलाई राखेर पठनपाठन गरिँदै आएको शिक्षक सञ्जय फडेराले बताए। ‘एउटै कोठामा फरक फरक कक्षाका विद्यार्थीलाई राखेर पठनपाठन गराउँदा उनीहरुलाई पढाएको कुरा बुझ्न समस्या हुने गरेको शिक्षक फडेराले बताए ।’
विद्यालय भवन निर्माणका लागि स्थानीयवासीलाई सहयोगका लागि आग्रह गरिएको शिक्षक फडेरा बताउछन् । कक्षा १ मा छात्रछात्रा गरी ३३, कक्षा दुईमा चार, कक्षा तीनमा आठ, कक्षा चारमा चार तथा पाँचमा तीन विद्यार्थी अध्ययनरत रहेका उनले जानकारी दिए । बालबिकास कक्षामा ७० विद्यार्थी छन् । विद्यालयका प्रधानध्यापकसहित चार स्थायी शिक्षक तथा दुई कार्यालय सहयोगी रहेका छन् ।
FACEBOOK COMMENTS