काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शिक्षा प्रणालीलाई विश्वको प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने स्तरको बनाउनुपर्ने बताएका छन् ।
नवलपरासीपूर्व नवलपुरको कावासोतीमा रहेको शिव माध्यमिक विद्यालयको ४९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा आफ्नो भनाइ राख्दै उनले शिक्षाको गुणस्तर वृद्धि गरी विश्वव्यापीरूपमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने गरी लाग्नुपर्ने बताएका हुन् । अध्यक्ष तिमिल्सिनाले भने, “हामी नेपालको प्रतिस्पर्धी जनशक्ति मात्रै होइन, विश्वको प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नेतर्फ केन्द्रित हुनुपर्छ, यसका लागि गुणस्तरीय शिक्षाको खाँचो छ ।”
उनले राज्यको ध्यान विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी दिनेतर्फ हुनुपर्ने बताए । कतै विद्यालयमा विद्यार्थी कम, शिक्षक बढी र कतिपय विद्यालयमा विद्यार्थीको सङ्ख्या धेरै र शिक्षक कम भएर राम्रो पठनपाठनमा समस्या हुने गरेको बताउँदै विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी कायम गराउन लाग्नुपर्ने उनले बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिक्षाको विकासका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताए । सामान्यतया एउटा विद्यार्थीलाई प्रारम्भिक चरणदेखि कक्षा १२ सम्म कम्तीमा १२ वर्ष लगानी गरेपछि जनशक्ति तयार हुने बताउँदै यसैअनुसार योजना र लगानी गर्नुपर्ने उनले बताए। कावासोतीको शिव माविमा भएको कार्यक्रम राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र मुख्यमन्त्री पोखरेलले विद्यालयको दुई वटा नवनिर्मित भवनको उद्घाटनसमेत गरेका थिए ।
FACEBOOK COMMENTS