अण्डाको मूल्य पुन: बढ्यो
कर्पोरट खबर
7:06 am, शनिबार, जेठ २३, २०८३
- नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको फार्म समर्थन मूल्य बढाएको छ।
- गर्मीमा उत्पादन घट्दा र माग बढ्दा एक्सएल अण्डाको मूल्य प्रतिक्रेट रु ५६० पुगेको छ, जुन एक महिनामा करिब २० प्रतिशतले बढेको हो।
चितवन । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुन:बढाएको छ । आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो । नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६०, ठूलो अण्डाको ५४५, मध्यम (मिडियम) अण्डाको ५१५ तथा सानो अण्डाको प्रतिपेटी तीन हजार कायम गरिएको छ । यसअनुसार खुद्रा बजारमा अण्डाको मूल्य करिब २५ भएको छ ।
सङ्घले सम्पूर्ण व्यवसायी तथा सरोकारवालालाई तोकिएको मूल्यमा कारोबार गर्न आग्रह गरेको छ । अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतारचढाव तथा किसानको बढ्दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताए ।
पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर उकालो लागेको देखिन्छ । वैशाख २४ गते एक्सएल अण्डाको मूल्य प्रतिक्रेट रु ४६५ रहेकामा नयाँ मूल्य ५६० पुगेको छ, जुन ९५ अर्थात् करिब २० प्रतिशतले बढी हो । सोही अवधिमा ठूलो अण्डाको मूल्य ४९० बाट ५४५, मिडियम अण्डाको ४०० बाट ५१५ तथा सानो अण्डाको प्रतिपेटी मूल्य २ हजार ३०० बाट तीन हजार पुगेको छ ।
सङ्घका अनुसार पछिल्ला केही सातायता अण्डाको उत्पादन घट्नुका साथै बजार माग बढ्दा मूल्यमा निरन्तर सुधार आएको हो । किसानले दाना, औषधि तथा अन्य उत्पादन सामग्रीको लागत बढ्दै जाँदा मूल्य समायोजन आवश्यक भएको सङ्घका अध्यक्ष पोखरेलले बताए ।