कास्की । दशैंयता पोखराका तालतलैया, गुफा, धार्मिकस्थल अधिकांश स्थानमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । कोरोना विपद्का कारण झन्डै २ वर्षयता सुनसान बनेको पोखरामा पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटन क्षेत्रमा पनि आशा जगाएको छ ।
फेवातालमा डुङ्गा शयर होस् वा आसपासका सराङकोट, काहुँकोट, विश्वशान्ति स्तुप, पुम्दीकोट, हुडिकोट आदि स्थानमा पर्यटकको बाक्लै उपस्थिति देखिएको छ । यी स्थानबाट देखिने सूर्योदयको अवलोकनसँगै हिमाली दृश्यले पर्यटकलाई लोभ्याएको छ ।
पोखरामा विशेषतः सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय अत्यधिक पर्यटक आउने समय भए पनि कोरोनाका कारण सुनसान बनेको यहाँको पर्यटनलाई दशैंको आगमनले ठूलै राहत पुर्याएको पश्चिमाञ्चल होटेल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।
दशैंमा कार्यालयमा हुने बिदाका साथै घटस्थापनादेखि कोजाग्रतसम्म नै शैक्षिक संस्था बन्द हुने भएका कारण यसअवधिमा विगतमा पनि देशका विभिन्न स्थानबाट आएका पर्यटकले चलायमान बनाउँथ्यो । कोरोनाको संक्रमण पनि घट्दै गएका कारण दशैंसँगै पर्यटक आउनेक्रम बढेको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।
दशैंअघिसम्म सुनसान जस्तै रहेका पोखराका होटेलमा यतिखेर क्षमताको करीब ३५ प्रतिशत आन्तरिक पर्यटकले भरिएको लेकसाइडस्थित होटेल एशियाका सञ्चालक धर्मराज पन्थीले जानकारी दिए । पोखरामा साना ठूला गरी झन्डै १ हजार होटेल छन् । यसमध्ये १६ ओटा तारे होटेल छन् । कोरोना संकटपछि यहाँका ठूला होटेलले पर्यटकका लागि प्याकेज उपलब्ध गराएका कारण ती होटेलमा साना तथा मझौला होटेलको तुलनामा बढी पर्यटक पुगेका छन् । विभिन्न वित्तीय संस्था, कार्यालय आदिका कार्यक्रम ठूला होटेलमा गरिनुले पनि ती होटेलमा पर्यटकको संख्या बढेको हो ।
यो समयमा पोखरा भित्रिएका पर्यटकमध्ये ठूला होटेलमा क्षमताको ५० प्रतिशत पर्यटक पुगेका छन् भने साना होटेलमा क्षमताको २५ प्रतिशत पर्यटक पुगेको हान पश्चिमाञ्चलका अध्यक्ष सुवेदीले जानकारी दिए । उनका अनुसार पोखराका होटेलमा हालसम्म झन्डै पौने ४ खर्ब बराबरको लगानी भइसकेको छ ।
हाल पोखरा भित्रिएका पर्यटकको तथ्याङ्कअनुसार प्रतिशत भारतीय पर्यटक छन् भने अन्य बाह्य पर्यटक ५ प्रतिशत छन् । कुल पर्यटकको ८५ प्रतिशत आन्तरिक पर्यटक छन् । सेप्टेम्बरदेखि डिसेम्बरसम्म पदयात्रा र पर्वतीय पर्यटनका लागि विदेशी पर्यटक आउने गर्छन् । पोखरा आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत पदयात्रामा जाने गरेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल९टान० पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS