काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक ८ देखि ११ घण्टासम्म अघोषित रूपमा लोडसेडिङ गर्न सुरु गरेको छ । डेडिकेटेड र ट्रंक लाइन विवादमा २३ वटा ठूला उद्योगमा काटिएको लाइन जोडिदिएपछि तत्कालै प्राधिकरणले लोडसेडिङ गर्न सुरु गरेको हो ।
हरेक दिन पिक समय अर्थात् बिहान ५ बजेदेखि ११ बजेसम्म र बेलुका पनि ५ बजेदेखि १० बजेसम्मको समयमा लोडसेडिङ गरिरहेको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।
लाइन काट्नुअघि चाहिँ दैनिक चार घण्टाका दरले लोडसेडिङ भइरहेको थियो । तर, २४ वटा उद्योगहरुमा लाइन काटेपछि विद्युत् उपभोग घटेका कारण प्राधिकरणले औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ हटाएको थियो ।
लाइन काटिएका उद्योगहरुमा पुन: लाइन जोडिदिएलगत्तै लामो समय लोडसेडिङ सुरु भएको हो ।अध्यक्ष थापाले भने, ‘एकपटक बन्द भएपछि सिमेन्ट उद्योग पुन: तताउनै २–३ घण्टा लाग्छ, त्यसो हुँदा बिहान–बेलुका नै लोडसेडिङ हुन थालेपछि उत्पादन नराम्रोसँग प्रभावित भएको छ ।’
गत वर्ष अधिकतम् ७–८ घण्टा लोडसेडिङ हुने गरेकोमा यो वर्ष सुरुवातमै त्यसभन्दा बढी विद्युत् कटौती हुन थालेको हो ।
‘सुरुमै यति लोडसेडिङ गर्न थालेपछि यो बढ्दै गएर १४–१५ घण्टा पुग्ने हो कि भन्ने डर छ,’ नेपाल रोलिङ मिल्स एसोसियसनका अध्यक्ष शाहिल अग्रवालले भने ।
प्राधिकरणले मौखिक रुपमा जानकारी दिएर लोडसेडिङ गरिरहेको उनले बताए । उनले भने, ‘नियमित लोडसेडिङ हुने गरेको छ, त्यसो गर्दा प्राधिकरणले तालिका नै निकाल्नुपर्ने हो, तर निकालेको छैन ।’
आफ्नो उद्योगमा दैनिक आठ घण्टा लोडसेडिङ भइरहेको रिलायन्स स्पिनिङ मिलका सञ्चालक शशिकान्त अग्रवालले जानकारी दिए । ‘हिजो बेलुका ७ बजेदेखि ११ बजेसम्म लाइन काटिएको थियो, आज बिहान पनि ५ बजेदेखि ९ बजेसम्म काटियो, बेलुका पनि ७ बजेदेखि ११ बजेसम्म नै लाइन काटिने जानकारी दिइएको छ,’ उनले भने ।
लोडसेडिङ नै गर्ने हो भने पनि तालिका दिएर गर्नुपर्ने उनले बताए । ‘लोडसेडिङ तालिका दिने हो भने कतिबेला उद्योग सञ्चालन गर्ने भनेर हामीले योजना बनाउन पाउँछौं, जतिबेला मन लाग्यो, त्यतिबेला लाइन काटिदिएर उद्योगीहरुलाई अप्ठ्यारोमा पारिएको छ,’ उनले भने ।
मुलुकको आन्तरिक उत्पादनले अहिलेको माग नधान्ने तर प्राधिकरणले भारतबाट आयात गरेर विद्युत् आपूर्ति गर्न नचाहेकाले लोडसेडिङ भइरहेको हो ।
अहिले पिक समयमा १७ सय ११ मेगावाट विद्युतको माग रहेको प्राधिकरणले जनाएको छ । तर, त्यसअनुसारको आपूर्ति भने मुलुकभित्र छैन ।
निजी क्षेत्रले ५३६ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । प्राधिकरणले २ सय ७२ र प्राधिकरणअन्तर्गतका कम्पनीबाट १ सय ४४ मेगावाट मात्रै विद्युत् उत्पादन हुन्छ । प्राधिरकणले भारतबाट ३२४ मेगावाट विद्युत् आयात गर्छ । यस हिसाबले अहिले प्राधिकरणले १२ सय ७७ मेवागाट मात्रै विद्युत् आपूर्ति गर्ने गरेको छ । ३ सय ३४ मेगावाट विद्युत् कम भएकाले प्राधिरकणले उद्योगहरुमा लोडसेडिङ गरिरहेको हो ।
नेपाल विद्युत् प्राधिकरणका एक उच्च कर्मचारीले उद्योगहरुमा लोडसेडिङ गर्न लागिएको स्वीकार गरे । तर, उनले यस विषयमा आफूहरुलाई बोल्ने अख्तियारी भने नरहेको बताए ।
भारतबाट विद्युत् आयात गर्दा महँगो शुल्क तिर्नुपर्ने र बिक्रीदर भने कम रहेकाले नेपाल विद्युत् प्राधिकरणले आयात गरेर बिजुली आपूर्ति गर्ने पक्षमा नरहेको उनले बताए । भारतबाट विद्युत् आदान प्रदान सम्झौताअन्तर्गत आयात गर्दा प्रति युनिट ७ रुपैयाँ २१ पैसा भारतीय रुपैयाँ अर्थात् ११ रुपैयाँ ५४ पैसा दर तय गरेको छ । त्यस्तै, भारतको खुलाबजारबाट पनि प्राधिकरणले विद्युत् आयात गर्ने गर्छ । त्यसको दर भने आयात गर्नुभन्दा एक दिन अघि मात्रै थाहा हुन्छ ।
तर, प्राधिकरणले औसत ९ देखि १० रुपैयाँका दरले नेपालमा विद्युत् विक्री गर्ने गरेको छ । भारतबाट महँगोमा किनेको बिजुली सस्तोमा बेच्नुभन्दा आयात नै नगर्ने रणनीतिमा प्राधिकरण लागेको स्रोतको भनाइ छ ।
FACEBOOK COMMENTS