पोखरा । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकोले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उदेश्य अनुरुप अघि बढेको बताएका छन् ।
सोमबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको कास्की पोखरामा उद्दघाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले फाल्गुन २१ मा सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा निर्वाचनको लागि कार्यतालिका सार्वजनिक भएर सोहि बमोजिम तयारी भईरहेको बताएका हुन् ।
गृह मन्त्रालय र गण्डकी प्रदेश सरकारको संयुक्त आयोजनामा एकदिने प्रदेशस्तरीय सुरक्षा गोष्ठीको सुभारम्भ गर्दै मन्त्री अर्यालले स्वतन्त्र विश्वसनीय निष्षक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिनिधि सभा सदस्य निर्वाचन एकिकृत सुरक्षा योजना–२०८२ स्वीकृत भई सोहि बमोजिम कार्य भईरहेको व्यहोरा बताएका छन् ।
उनले फरार कैदी बन्दीका सम्बन्धमा कुल फरार कैदीमध्ये ठुलो संख्यामा करिब करिब ७० प्रतिशत कैदी बन्दी हाल फिर्ता आईसकेको र बाँकी पनि आउने क्रममा रहेको र यसका लागि गृह प्रशासनले चनाखो भई काम गरिरहेको बताए ।
भयरहित निष्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले चालेका कदमहरुमध्ये हाल सरकारले सबै प्रदेशमा यस्तो सुरक्षा गोष्ठी गर्नु पनि एक प्रमुख कारण भएको बताउँदै, यस सुरक्षा गोष्ठीमा गण्डकी प्रदेशको सुरक्षा चुनौती संश्लेषण गर्ने, त्यसका लागि आवश्यक रणनीति तय गर्ने, निर्वाचनका लागि गरिएका र अझ गर्नुपर्ने तयारीबारे खुलेर छलफल गरी निष्कर्षमा पुग्ने विश्वाससमेत मन्त्री अर्यालले गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले अहिले सरकारबाट नै तोकिएकै मितिमा निर्वाचन गर्नुको विकल्प नरहेको बताउंदै निर्वाचन हुँदैन र सो को वातावरण बनेको छैन भन्नु भनेको पुन: देशलाई राजनीतिक अस्थिरता तर्फ धकेल्नु भएको बताए ।
हाल देशमा धेरै भन्दा धेरै फरार कैदी बन्दी अझै बाहिर रहनु र लुटिएका हतियारको जफत नहुनाले राजनीतिक दलहरुप्रति चुनाव विश्वस्त वातावरण बन्न नसकेको उल्लेख गर्दै उनले फेरी यसैलाई प्रमुख मुद्दा बनाएर अघि बढ्दा निर्वाचनको वातारण झनै बिग्रने बताए ।

गण्डकी प्रदेश अन्तर्गतका गोरखा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, बाग्लुङ, म्याग्दी र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी ११ वटा जिल्लाहरु पर्दछन्। कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डण्डुराज घिमिरे, नेपाली सेनाका बलाध्यक्ष रथी गणेश श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, नेपाली सेना, पश्चिम पृतना हेडक्वार्टरका पृतनापति (उपरथी) मधुकर सिंह कार्की, गृह मन्त्रालय, विपद् तथा द्वन्द्व महाशाखा प्रमुख, गृह मन्त्रालय, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख, प्रदेश सचिवहरु, प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरु, ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीहरुको थियो ।


FACEBOOK COMMENTS